बराहक्षेत्र | विगत ५ वर्षदेखि ग्रामीण क्षेत्र बराहक्षेत्र नगरपालिकालाई केन्द्रबिन्दुमा राखेर सक्रिय पत्रकारितासँगै सामाजिक कार्यमा अग्रसर हुँदै आएका समिर चन्द्रवंशीले बराहक्षेत्र नगरपालिका–९ स्थित श्री जङ्गा यु.नि.हिम. विद्यालय (बहुभाषिक आधारभूत विद्यालय) का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरी आफ्नो जन्मदिन मनाएका छन्।
जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्न पाउँदा खुसी लागेको बताउँदै चन्द्रवंशीले विद्यार्थी बालबालिकाको उज्यालो भविष्यको कामना गरे। सहयोग गर्ने अवसर दिनुभएकोमा विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै उनले भने, “यस्तो अवसर पाउँदा मन प्रसन्न छ।”
विद्यालय परिवारले पनि यस प्रकारको सहयोगले विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पारेको जनाएको छ। शैक्षिक सामग्री पाएका विद्यार्थीहरूले खुसी व्यक्त गर्दै यसले पढाइमा थप हौसला मिल्ने बताएका छन्।
शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायत अन्य स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो।







