इटहरी । इटहरी निवासी गीतकार तथा साहित्यप्रेमी सर्जक भाइसन बर्देवाको अन्तिम विदाई तथा श्रद्धाञ्जली सभा संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको प्राङ्गणमा आयोजना गरिएको छ।
श्रद्धाञ्जली सभामा इटहरीका मेयर हेमकर्ण पौडेलले बर्देवाको पार्थिव शरीरमा संगीत साधना प्रतिष्ठान नेपालको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो।
बर्देवाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कोशी प्रदेशका मन्त्री, इटहरीकी उपमेयरसहित गीतकार, संगीतकार, गायक–गायिका, साहित्यकार, लेखक, विश्लेषक, प्राध्यापक तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
साहित्य तथा संगीत क्षेत्रमा सक्रिय बर्देवाको निधनले नेपाली गीत–साहित्य र सिर्जनशील क्षेत्रमा अपूरणीय क्षति पुगेको सहभागीहरूले बताएका छन्। श्रद्धाञ्जली सभामा उपस्थित व्यक्तिहरूले बर्देवाको सिर्जनशील योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।







