विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिको युवा कोटाबाट इन्जिनियर नवीन श्रेष्ठले युवा महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘GenZ for a Better Nepal’ भन्ने अवधारणासहित उम्मेदवारी दिएका श्रेष्ठले युवा पुस्ताको सहभागिता, नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण अवसर सुनिश्चित गर्न आफू अघि बढेको बताएका छन्। उनको अभियानको मूल सन्देश ‘युवाको सपना, कांग्रेसको प्रतिबद्धता–अबको नेतृत्व युवा पुस्ताको’ रहेको छ।
श्रेष्ठले पूर्वाञ्चल क्याम्पस, धरानबाट Agricultural Engineering मा Bachelor तथा Land and Water Engineering मा MSc अध्ययन गरेका छन्। हाल उनी सोही विषयमा स्नातकोत्तर तहको अध्ययनरत छन्।
संगठनात्मक रूपमा पनि श्रेष्ठ नेपाल विद्यार्थी संघ, सुनसरीका जिल्ला सचिव, नेवि संघ पूर्वाञ्चल क्याम्पस, धरानका पूर्व सभापति तथा पूर्वाञ्चल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापतिका रूपमा काम गरिसकेका छन्।
श्रेष्ठले आफ्नो युवा एजेण्डामा डिजिटल नेपाल, युवामैत्री शिक्षा र रोजगारी, रोजगार तथा उद्यमशीलता, स्टार्टअप र नवप्रवर्तन, विदेशमा सुरक्षित रोजगारी, GenZ को सशक्तीकरण तथा युवाको नेतृत्वमा सहभागितालाई प्राथमिकतामा राखेका छन्।
त्यस्तै, समावेशी र समृद्ध भविष्य निर्माणका लागि समानता, अवसर र दिगो विकासलाई अघि बढाउने तथा पार्टीभित्र स्वच्छ, पारदर्शी र जवाफदेही राजनीति, सुशासन र डिजिटल प्रविधिमैत्री संगठन निर्माण गर्ने उनको एजेण्डा छ।
युवा पुस्ताको आवाजलाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियासम्म पुर्याउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको श्रेष्ठको भनाइ छ।







