इटहरी । सुन्दरता केवल बाहिरी आवरणमा सीमित हुँदैन, यो महिलाको आत्मविश्वास, क्षमता, प्रतिभा र समाजप्रतिको दृष्टिकोणमा समेत झल्किन्छ। यही अवधारणालाई आत्मसात् गर्दै कोशी प्रदेशका गृहिणीदेखि विभिन्न पेशा र व्यवसायमा आबद्ध १९ जना महिला ‘मिसेस पूर्वेली आइकन’को तेस्रो संस्करणको उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।

ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताले परम्परागत सौन्दर्य प्रतियोगिताको दायराभन्दा बाहिर गएर महिलाको व्यक्तित्व, प्रतिभा, आत्मविश्वास र सामाजिक योगदानलाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत ‘ट्यालेन्ट राउन्ड’ यही असोज ११ गते आइतबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ। ट्यालेन्ट राउन्डमा मिस नेपालकी कोशी प्रदेश प्रमुख स्मित कार्की र नृत्यांगना प्रनिशा उदासले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

ट्यालेन्ट राउन्ड सम्पन्न भएसँगै आयोजक टोली असोज १९ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना हुने ग्रान्ड फिनालेको तयारीमा जुटेको छ।

प्रतियोगितामा चिकित्सा क्षेत्रबाट इनरुवाकी डा. उरुषा शाह र विराटनगरकी फार्मासिस्ट संगिता शाह सहभागी छन्। बैंकिङ तथा कर्पोरेट क्षेत्रबाट धनकुटाकी बैंकर जमुना दाहाल, बिर्तामोडकी बैंकर ध्रुव कुमारी गुरुङ, विराटनगरकी सानिमा लाइफ इन्स्योरेन्स शाखा प्रबन्धक भावना घिमिरे र बुढीगंगाकी कर्पोरेट अफिसर मनिका चौधरी प्रतिस्पर्धामा छन्।

त्यस्तै, शैक्षिक तथा सञ्चार क्षेत्रमा आबद्ध बेलबारीकी शिक्षिका अञ्जिला चौधरी, इटहरीकी यमुना महत, रामधुनीकी सोनी थापा तथा इटहरीकी शिक्षिका एवं सञ्चारकर्मी सिर्जना राउत पनि उपाधिको दौडमा छन्।

व्यवसाय तथा उद्यमशीलताबाट इटहरीकी अलिसा धिमाल र लुइशा पुडासैनी, ‘किङ्ग्स एन्ड क्विन्स फेसन वेयर’की सञ्चालिका सुषमा राई श्रेष्ठ, मोरङ ग्रामथानकी ‘ग्रामथान कलेक्सन’की स्वस्तिका चौधरी, इटहरीस्थित ‘ससुरालीको अचार’की प्रोप्राइटर शोभा राउत र बेलबारीकी महिला उद्यमी कुमारी थापा प्रतिस्पर्धामा छन्।

यसैगरी सौन्दर्य कला तथा गृह व्यवस्थापनमा सक्रिय इटहरीकी गृहिणी अनुपा दङ्गाल, गृहिणी तथा ब्युटिसियन वर्षा गजमेर र गोठगाउँ, मोरङकी ब्युटिसियन सीता वन श्रेष्ठले पनि अन्तिम १९ मा आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका छन्।

आयोजकका अनुसार प्रतियोगितामा शारीरिक सौन्दर्यलाई मात्र आधार नबनाई प्रतियोगीहरूको प्रस्तुति, व्यक्तित्व, आत्मविश्वास, प्रतिभा तथा सामाजिक दृष्टिकोणलाई समेत मूल्यांकन गरिनेछ।

यस संस्करणको अर्को विशेष आकर्षण प्रतियोगीहरूको ‘भिडियो डकुमेन्ट्री’ रहेको छ। प्रतियोगीहरू र्‍याम्पमा प्रस्तुत हुने मात्र नभई उनीहरूको व्यक्तिगत जीवन, पेशागत संघर्ष, उपलब्धि, रुचि तथा समाजमा पुर्‍याएको योगदानलाई भिडियोमार्फत दर्शकमाझ प्रस्तुत गरिने आयोजकले जनाएको छ।

प्रतियोगितालाई सफल बनाउन आयोजक संस्थाका म्यानेजिङ डाइरेक्टर तथा इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठको नेतृत्वमा सिइओ सजिना श्रेष्ठ, कोरियोग्राफर सुभेच्छा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ तथा फोटो तथा भिडियोग्राफर निश्चल श्रेष्ठसहितको टोली सक्रिय छ।

असोज १९ गते हुने ग्रान्ड फिनालेमा सहभागी १९ महिलामध्ये कसले ‘मिसेस पूर्वेली आइकन’को ताज पहिरिनेछन् भन्ने विषय अहिले चासोको विषय बनेको छ।

Smart

तपाईको प्रतिक्रिया