इटहरी । अभिनेत्री तथा निर्देशक नीता ढुंगानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ शुक्रबार अर्थात् भोलिबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ।
देश प्राकृतिक विपत्तिको शोकमा रहेका बेला फिल्म निर्माण पक्षले सामाजिक उत्तरदायित्व देखाउँदै फिल्मको पहिलो दिनको सम्पूर्ण कलेक्सन रसुवाका बाढीपीडितको सहयोगार्थ प्रदान गर्ने घोषणा गरेको छ।
फिल्मको प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भइसकेकाले अन्तिम समयमा आएर प्रदर्शन मिति सार्न प्राविधिक रूपमा सम्भव नभएको निर्देशक ढुंगानाले बताएकी छन्। निर्धारित मितिमै फिल्म प्रदर्शनमा ल्याउने र पहिलो दिनको आम्दानी बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरिएको उनको भनाइ छ।
“रिलिजको सम्पूर्ण तयारी भइसकेकाले अन्तिम समयमा आएर प्रदर्शन मिति सार्न सहज छैन । त्यसैले हामी फिल्म ‘पार्वती’ भोलिबाटै रिलिज गर्दै छौँ,” निर्देशक ढुंगानाले भनिन्, “देश नै शोकमा रहेका बेला हामीले पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिने निर्णय गरेका छौँ।”
ढुंगानाका अनुसार ‘पार्वती’ केवल व्यावसायिक लाभका लागि निर्माण गरिएको फिल्म नभई आत्मसन्तुष्टिका लागि तयार गरिएको चलचित्र हो। सोही कारण फिल्मबाट प्राप्त पहिलो दिनको आम्दानी सामाजिक कार्यमा लगाउने निर्णय गरिएको उनले बताएकी छन्।
फिल्मको कथा तथा निर्देशनसमेत ढुंगानाले नै गरेकी हुन्। ‘पार्वती’ अटिजम भएकी एक महिलाको जीवन, उनका चुनौती तथा दिदी–भाइबीचको गहिरो प्रेम र आत्मीयतामा केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा नीता ढुंगानाले स्वयं अटिजम भएकी महिलाको चुनौतीपूर्ण भूमिका निर्वाह गरेकी छन्। बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीले उनका भाइको भूमिका निभाएका छन्।
‘पार्वती’मा नीता ढुंगाना र अशोक दर्जीसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यसहित प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’ले मनोरञ्जनसँगै सामाजिक संवेदनशीलताको सन्देश दिने निर्माण पक्षको विश्वास छ। पहिलो दिनको सम्पूर्ण आम्दानी बाढीपीडितका लागि सहयोग गर्ने घोषणाले फिल्मप्रति दर्शकको चासोसमेत बढ्ने अपेक्षा गरिएको छ।
ट्रेलर







