इटहरी । लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर बुझिन्छ । तर यही जीवनसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडालाई कथाको केन्द्रमा राखिएको फिल्म ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएको छ ।

माओत्से गुरुङको निर्देशन तथा अभिनेता दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्मले लाहुरे जीवनको बाहिरी चमकभन्दा पर रहेको सामाजिक तथा भावनात्मक पाटोलाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘पेन्सन पट्टा’ले लाहुरे परिवारभित्र देखिने सम्बन्ध, संघर्ष, त्याग र भावनात्मक उतारचढावलाई कथामार्फत प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । सार्वजनिक ट्रेलरले पनि फिल्ममा पारिवारिक सम्बन्ध र लाहुरे जीवनसँग जोडिएका संवेदनशील विषयलाई प्राथमिकता दिइएको संकेत गरेको छ ।

फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज कौछा मगर, यासिली योख्खा, डिबी गुरुङ, प्रतिच्छ्या गुरुङ, सोल गुरुङ, अनुषा राई, मनोज गुरुङ, मनिका गुरुङ र कुबिना गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङले फिल्म निर्माण गरेका हुन् । डिबी गुरुङ प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन् ।

सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन् । फिल्मको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन् ।

निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् । सुरज तामु र केर डी. कोइन्च लिनुच सह–लेखक रहेको ‘पेन्सन पट्टा’मा राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा रहेका छन् ।

लाहुरे जीवनलाई केवल आर्थिक सुविधा र सामाजिक प्रतिष्ठाको दृष्टिले मात्र नभई त्यससँग जोडिएका परिवार, सम्बन्ध, त्याग र भावनात्मक संघर्षका रूपमा प्रस्तुत गर्न खोजिएको ‘पेन्सन पट्टा’ले दर्शकलाई फरक कथावस्तुसँग जोड्ने अपेक्षा गरिएको छ ।

ट्रेर्लस

 

Smart

तपाईको प्रतिक्रिया