योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ) : मोरङको बुढीगंगा गाउँपालिका–४, हात्तीमुढामा ८ करोड ७६ लाख ४० हजार ६५३ रुपैयाँ लागतमा निर्माण गरिएको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। ९ कट्ठा २ धुर क्षेत्रफलमा निर्माण गरिएको भवनको उद्घाटनसँगै गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष अमृता कुमारी गच्छदार, प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराई, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङ प्रहरी प्रमुख कविता कटवाललगायत विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापा मगरले बूढीगंगा गाउँपालिका विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, सडक, विद्युत् र कृषि क्षेत्रको विस्तारमा अघि बढिरहेको बताए । छोटो समयमै प्रशासकीय भवन निर्माण सम्पन्न हुनु गाउँपालिकाका लागि उपलब्धिमूलक भएको उल्लेख गर्दै उनले नवनिर्मित भवनले प्रशासनिक कामलाई सहज बनाउनुका साथै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष थापा मगरका अनुसार भवनको शिलान्यास नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गरेका थिए । भवन निर्माणका लागि आवश्यक बजेटमध्ये ६० प्रतिशत डा. कोइरालाको पहलमा र बाँकी ४० प्रतिशत गाउँपालिकाको बजेटबाट व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
उनले भौतिक पूर्वाधार निर्माणसँगै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने सेवा तथा सुविधालाई गाउँपालिकाले प्राथमिकता दिएको बताए। अन्य पालिकामा फोहोर संकलनबापत मासिक शुल्क लिने व्यवस्था रहेको उल्लेख गर्दै बूढीगंगामा भने वार्षिक ७५ रुपैयाँ मात्रै शुल्क लिने व्यवस्था गरिएको उहाँको भनाइ थियो। त्यसैगरी, नागरिकलाई रगत आवश्यक परेको अवस्थामा त्यसको व्यवस्थापनमा समेत गाउँपालिकाले सहयोग गर्दै आएको उनले बताए।
‘गाउँपालिका भनेको जनताको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर काम गर्ने निकाय हो,’ अध्यक्ष थापा मगरले भने, ‘विकास निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउनुपर्छ। गाउँपालिका सधैँ जनताको साथमा रहेर काम गरिरहेको छ।’
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता कुमारी गच्छदारले नवनिर्मित प्रशासकीय भवनले गाउँपालिकाको प्रशासनिक कामलाई व्यवस्थित बनाउन र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताईन् । उनले भौतिक पूर्वाधारको विकाससँगै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार गर्नुपर्नेमा जोड दिँदै गाउँपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराईले नयाँ प्रशासकीय भवनले कार्यालयको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताए । उनले भवनको सुविधालाई सदुपयोग गर्दै सेवाग्राहीलाई छिटो, सहज, पारदर्शी र प्रभावकारी सेवा उपलब्ध गराउने दिशामा कर्मचारीहरू जिम्मेवार भएर लाग्नुपर्ने बताए । नयाँ भवनको निर्माणसँगै प्रशासनिक सेवा प्रवाहलाई थप चुस्त, व्यवस्थित र नागरिकमैत्री बनाउनु कार्यालयको प्राथमिकता हुने उनको भनाइ थियो।
भवन निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न योगदान पुर्याएको भन्दै निर्माण व्यवसायी ब्राइट बुल निर्माण सेवा प्रालिका प्रतिनिधि राहुल भण्डारीलाई ११ किलोको माला लगाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो। त्यस्तै, गाउँपालिकाको कामकाज तथा सेवा प्रवाहमा योगदान पुर्याउने विभिन्न कर्मचारीहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो। कर्मचारीहरूको योगदानको कदर गर्दै गरिएको सम्मानले उनीहरूलाई थप जिम्मेवार र सेवाप्रति प्रतिबद्ध बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा वक्ताहरूले प्रशासकीय भवन निर्माण हुनु सकारात्मक उपलब्धि भए पनि भवन मात्रै बनेर पर्याप्त नहुने धारणा राखेका थिए। उनीहरूले नयाँ भवनबाट नागरिकले छिटो, सहज, पारदर्शी र प्रभावकारी सेवा पाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए। भौतिक संरचनासँगै कर्मचारीको जिम्मेवारी, सेवाग्राहीप्रतिको व्यवहार र सेवा प्रवाहको गुणस्तरमा समेत सुधार हुनुपर्ने उनीहरूको भनाइ थियो।
नवनिर्मित प्रशासकीय भवन सञ्चालनमा आएसँगै गाउँपालिकाको दैनिक प्रशासनिक कामकाज व्यवस्थित हुनुका साथै नागरिकलाई एउटै स्थानबाट विभिन्न सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। अब भवनलाई प्रभावकारी सेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्नु गाउँपालिकाका लागि महत्वपूर्ण जिम्मेवारी बनेको छ।







