इटहरी । उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष उम्मेदवार नवराज काफ्लेको साझा समूहबाट सदस्य पदका उम्मेदवार दिनेश धमला विजयी भएका छन्।
निर्वाचनअघिको मतदानका क्रममा इटहरी–५ स्थित ज्योति माध्यमिक विद्यालयमा व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय साथ पाएपछि दिनेश धमलाको चर्चा चुलिएको थियो। मतदानस्थलमा देखिएको उत्साह र समर्थन अन्ततः मतपरिणाममा पनि प्रतिबिम्बित भएको छ।
धमलाले व्यवसायीहरूको उल्लेखनीय समर्थन प्राप्त गर्दै सदस्य पदमा प्रभावशाली विजय हासिल गरेका हुन्। उनको जितलाई व्यवसायी समुदायले सक्षम, सक्रिय र व्यवसायीको हितमा काम गर्ने नेतृत्वप्रतिको विश्वासका रूपमा लिएको छ।
निर्वाचन परिणामसँगै अध्यक्ष उम्मेदवार नवराज काफ्ले नेतृत्वको साझा समूहका उम्मेदवारप्रति व्यवसायी समुदायको विश्वास पनि प्रष्ट भएको छ। चुनावी अभियानका क्रममा धमलाले व्यवसायीको हकहित संरक्षण, संस्थागत सुधार, पारदर्शी नेतृत्व तथा व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
विजयपछि धमलाले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण उद्योगी तथा व्यवसायीप्रति हार्दिक आभार व्यक्त गर्दै उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी, उत्तरदायी र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्न सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
उद्योग वाणिज्य संघ इटहरीको नयाँ कार्यसमितिले स्थानीय उद्योग, व्यापार तथा उद्यम प्रवर्द्धन, व्यवसायीका समस्या समाधान र संस्थागत विकासमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।













