इटहरी खानेपानी उपभोक्ता संस्थाको ३० औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभा सम्पन्न

Listen to this article
1 minute read

इटहरी | इटहरी खानेपानी उपभोक्ता संस्थाको ३० औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभा संस्थाका अध्यक्ष यामकुमार सुब्बाको अध्यक्षतामा सम्पन्न भएको छ ।


इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगीता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा संस्थाका उपाध्यक्ष प्रेम बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शालिकराम ढकालले गर्नुभएको थियो । सो अवसरमा पहिलो धारा जडान गरी संस्थाको विकासमा सुरुवाती योगदान पु¥याउने उपभोक्ताहरू प्रतापकुमार राई, सतन जयसवाल र विमलकुमारी बस्नेत आचार्यलाई विशेष सम्मान गरिएको थियो ।

समारोहमा पूर्वअध्यक्षहरू प्रमोदकुमार श्रेष्ठ, बी.पी. पौडेल, र निवर्तमान अध्यक्ष रामप्रसाद चौलागाई लगायतका नेतृत्वहरूको दूरदर्शी योगदानको उच्च कदर गरिएको थियो । त्यसैगरी कार्यक्रममा कोशी प्रदेश खानेपानी उपभोक्ता महासंघका महासचिव डम्बर सिङ्देल, नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेशकुमार भट्टराई, विश्वआदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाल र इटहरी उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष भिष्मकुमार घिमिरे लगायत विभिन्न सामाजिक, राजनीतिक व्यक्तित्व, सुरक्षा निकायका पदाधिकारी र उपभोक्ताहरूको उपस्थिति रहेको थियो ।

सभाले संस्थाको प्रगति प्रतिवेदन, आर्थिक आय–व्यय र आगामी रणनीतिक योजनाहरू सर्वसम्मत रूपमा पारित गर्दै संस्थालाई अझ प्रविधिमैत्री र उपभोक्तामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । विगत ३० वर्षदेखि नगरबासीलाई स्वच्छ पानी वितरण गर्दै आएको यस संस्थाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को गाइडलाइन बमोजिम चौबीसै घण्टा शुद्ध पानी उपलब्ध गराउने मूल लक्ष्य राखेको छ । एसियाली विकास बैंकको ऋण सहयोग र स्थानीय तहको समन्वयमा करिब ३१ करोड ८१ लाख रुपैयाँको बृहत् आयोजना अन्तर्गत हालसम्म ५ सय ४६ किलोमिटरभन्दा लामो पाइपलाइन विस्तार गरी हजारौँ घरधुरीमा सेवा पु¥याइएको छ । अत्याधुनिक वाटर ट्रिटमेन्ट प्लान्ट, ३ वटा विशाल ओभरहेड ट्याङ्की र २१ वटा डिपबेल मार्फत सुरक्षित पानी वितरण भइरहेको यस परियोजनालाई ज्ञानप्रसाद पौडेल लगायतको टिमले अहोरात्र खटेर व्यवस्थापन गरिरहेको छ । अध्यक्ष सुब्बाका अनुसार सरकारको मापदण्डले २० हजार घरधुरी धान्ने क्षमता देखाए पनि कुशल व्यवस्थापन मार्फत हाल करिब २७ हजार घरधुरीलाई पानी उपलब्ध गराइएको छ, जसका कारण गर्मीमा माग धान्न गाह्रो हुने र हिउँदमा विद्युत् भोल्टेजको समस्याले चुनौती थपिने गरेको छ । यी तमाम प्राविधिक चुनौती र बढ्दो सहरीकरणका बीच पनि इटहरीका १३ वटै वडामा सेवा विस्तार गर्दै यो संस्था आज देशभरकै सबैभन्दा पारदर्शी, व्यवस्थित र नमुना उपभोक्ता संस्थाका रूपमा स्थापित हुन सफल भएको छ ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *