झापा | बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ मा विनियोजन गरेको कुल बजेटमध्ये करिब तीन चौथाइ मात्र खर्च गर्न सकेको छ।
आर्थिक वर्षको अन्त्यसँगै तयार गरिएको वित्तीय विवरणअनुसार नगरपालिकाले कुल बजेटको ७६।२७ प्रतिशत रकम खर्च गरेको छ भने बाँकी करिब ३३ करोड रुपैयाँ उपयोग हुन नसकी सरकारी कोषमा फिर्ता गएको छ। नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब ३८ करोड रुपैयाँको बजेट स्वीकृत गरेको थियो। त्यसमध्ये १ अर्ब ५ करोड रुपैयाँ विभिन्न कार्यक्रम तथा योजनामा खर्च भएको छ। खर्च हुन नसकेको रकम भने नियमानुसार फ्रिज भई फिर्ता गएको नगरपालिकाले जनाएको छ।
खर्चको विवरण हेर्दा प्रशासनिक तथा नियमित प्रकृतिका कार्यक्रमका लागि छुट्याइएको चालु बजेटको कार्यान्वयन सन्तोषजनक देखिएको छ। चालुतर्फ ८५।१४ प्रतिशत बजेट खर्च भएको छ। तर विकास निर्माण, पूर्वाधार तथा अन्य पुँजीगत योजनामा भने अपेक्षाअनुसार प्रगति हुन नसकेको देखिन्छ। पुँजीगततर्फ ६७।२७ प्रतिशत मात्रै बजेट खर्च भएको वित्तीय विवरणमा उल्लेख छ।नगरपालिकाका अनुसार सबैभन्दा बढी रकम बुट्टावारी–प्याकुरेल चोक सडक योजनाबाट बचत भएको हो। उक्त योजनामा विनियोजन गरिएको २ करोड ५४ लाख रुपैयाँ खर्च नभई फिर्ता गएको छ। नगरपालिकाले भने सडक निर्माणको काम सम्पन्न भएपछि ठेक्का सम्झौता तथा अन्तिम मूल्याङ्कनका क्रममा लागत अनुमानभन्दा कम खर्च भएकाले उक्त रकम बचत भएको स्पष्ट पारेको छ।

यस बाहेक अन्य केही विकास योजनामा पनि विनियोजित रकम पूर्ण रूपमा खर्च हुन नसकेको जनाइएको छ। कतिपय योजनामा कार्यान्वयन अवधि छोटिएको, केहीमा खरिद तथा भुक्तानी प्रक्रिया समयमै पूरा हुन नसकेको तथा केही योजनामा लागत अनुमानभन्दा कम खर्च भएका कारण बजेट उपयोग प्रभावित भएको नगरपालिकाको भनाइ छ। स्थानीय तहमा विकास बजेटको प्रभावकारी कार्यान्वयनलाई सुशासन र विकासको महत्वपूर्ण सूचक मानिने भए पनि बिर्तामोड नगरपालिकामा यस वर्ष पनि पुँजीगत खर्च अपेक्षाभन्दा कम रहँदा विकास बजेटको ठूलो हिस्सा उपयोग हुन सकेन। यद्यपि नगरपालिकाले सम्पन्न भएका योजनाबाट बचत भएको रकमलाई अनावश्यक खर्च नभई वित्तीय अनुशासनको हिस्सा भएको दाबी गरेको छ।













