इटहरी । उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीले आफ्नो अग्रता कायमै राखेकी छन्।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार भण्डारीले ६६४ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नवराज काफ्लेले ५७१ मत प्राप्त गरेका छन्। यससँगै भण्डारी ९३ मतको अग्रतामा रहेकी छन्।
मतगणना उद्योग वाणिज्य संघको कार्यालयमा निरन्तर जारी रहेको निर्वाचन समितिले जनाएको छ। अझै मतगणना बाँकी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।
उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वका लागि भएको निर्वाचनलाई व्यवसायीहरूले निकै चासोका साथ हेरिरहेका छन्। प्रारम्भिक चरणदेखि नै प्रतिस्पर्धा रोचक बनेको भए पनि हालसम्मको मतपरिणामले गायत्री कटुवाल भण्डारीलाई अग्रस्थानमा देखाएको छ।

निर्वाचन समितिले बाँकी मतगणना सम्पन्न भएपछि आधिकारिक अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको छ।












