उद्योग वाणिज्य संघ इटहरीको इतिहासमै पहिलो महिला अध्यक्ष बनिन्

Listen to this article
1 minute read

इटहरी | उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ।

शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक हुँदा गायत्री कटवाल भण्डारी अध्यक्षमा निर्वाचित भएकी हुन्।
उनी उद्योग वाणिज्य संघ इटहरीकी पूर्व कोषाध्यक्ष तथा रेडिमेड व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्ष हुन्।
यसपटक अध्यक्षमा निर्वाचित भएसँगै उनी उद्योग वाणिज्य संघ इटहरीको इतिहासमै पहिलो महिला अध्यक्ष बनेकी छन्।

निर्वाचनका क्रममा भण्डारीले संघमा पारदर्शिता, महिला नेतृत्वको सशक्त उपस्थिति तथा व्यवहारिक सुधारका एजेन्डा अघि सारेकी थिइन्।

अन्तिम मतपरिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गरिन्।

काफ्लेले ७४३ मत प्राप्त गरेका थिए। यस जितसँगै उवासंघ इटहरीले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ।

वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने सर्वाधिक ९८९ मतसहित निर्वाचित भए। त्यसपछि सञ्जीव खड्का (९८४), बलराम बस्नेत (९६०), सिनेट रिजाल (९५९), सञ्जय शाह (९५७), बलबहादुर न्यौपाने (९४३), सन्नी चौधरी (९१५), दिनेशप्रसाद धमला (९०८) र महेश थापा (८८३) मत प्राप्त गर्दै विजयी बने।

यस्तै, वाणिज्य सदस्यका अन्य उम्मेदवारमध्ये दुर्गाप्रसाद थापाले ५५८, निर्मला श्रेष्ठले ५१३, उषा सेढाई (सत्याल)ले ४८४ र हर्कबहादुर विकले ४२३ मत प्राप्त गरे पनि निर्वाचित हुन सकेनन्।

महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भए। प्रतिस्पर्धामा रहेकी पुनम थापा मगर र लीलाकुमारी राई भने पराजित भए।

उद्योग सदस्यतर्फ अभिषेक बस्नेत (१४४), शिवप्रसाद भट्टराई ‘भूपाल’ (१३४), हरिप्रसाद तिम्सिना (१२१) र किसनकुमार खेडिया (१०१) निर्वाचित भए। अर्का उम्मेदवार सुरज आङ्देम्बेले ८० मत प्राप्त गरे।
उवासंघ इटहरीमा कुल दुई हजार ३६९ मतदाता रहेकामा निर्वाचनमा एक हजार ५४३ मत खसेको निर्वाचन समितिले जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *