इटहरी । रसुवाका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ११ लाख रुपैयाँ सहयोग गरेका छन् ।

महासंघ, कोशी प्रदेशले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत अध्यक्ष राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जानकारी दिएको हो ।

रसुवामा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति महासंघ, कोशी प्रदेशले दुःख व्यक्त गरेको छ । महासंघले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

विपद्को यस घडीमा प्रभावित क्षेत्रमा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन र घरबारविहीन परिवारलाई तत्काल सुरक्षित वासस्थान, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउन महासंघले नेपाल सरकारसँग आग्रह गरेको छ ।

महासंघले कोशी प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायी तथा उद्योग वाणिज्य संघ–संस्थालाई पनि आफ्नो स्तरबाट सम्भव भएसम्म राहत तथा सहयोग उपलब्ध गराउन अपिल गरेको छ ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा निजी क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्वअनुसार सहयोग गर्नुपर्ने महासंघको भनाइ छ । अध्यक्ष राउतले गरेको सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहत कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ।

Smart

तपाईको प्रतिक्रिया