इटहरी । चलचित्र क्षेत्रमा प्रोडक्सन तथा बजार व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका नवीन श्रेष्ठ अब म्युजिक भिडियो निर्देशनमा पनि सक्रिय भएका छन्। चलचित्र क्षेत्रमा लामो समयको अनुभव बटुलेका श्रेष्ठले पहिलोपटक म्युजिक भिडियो निर्देशन गर्दै नयाँ यात्राको सुरुवात गरेका हुन्।
आसुशेन फिल्म्स ब्यानरमा निर्देशक सन्तोष सेनसँग सहकार्य गर्दै अनुभव हासिल गरेका श्रेष्ठले हालसम्म दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। विभिन्न चलचित्रमा काम गर्दै प्राप्त गरेको अनुभवका आधारमा उनले पूर्वी नेपालमा आफ्नो छुट्टै पहिचानसमेत बनाउन सफल भएका छन्।
चलचित्र क्षेत्रमा लामो समय काम गर्दा हासिल गरेको अनुभवलाई नयाँ सिर्जनामा प्रयोग गर्दै श्रेष्ठले ‘पैसा’ बोलको म्युजिक भिडियो निर्देशन गरेका हुन्। भिडियोको स्टोरीसमेत श्रेष्ठ आफैंले तयार पारेका हुन्।
Highfive Media Production को प्रस्तुतिमा निर्माण भएको ‘पैसा’ मा बिकास श्रेष्ठ मुख्य भूमिकामा छन्। भिडियोमा रोशन मण्डल, रचना श्रेष्ठ, आशिका कार्की, अनुराग निरौला, होम पी. भट्टराई र बिनोद श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।
भिडियोमा रविस्थाको शब्द तथा र्याप रहेको छ। राहुल राई निर्माता तथा रोशन मण्डल कार्यकारी निर्माता रहेका छन्। छायांकन सुमन तामाङले गरेका छन् भने सम्पादन हेमन तामाङ र मेकअप रचना श्रेष्ठले गरेका छन्।
निर्देशक श्रेष्ठका अनुसार ‘पैसा’ लाई कथानक शैलीमा प्रस्तुत गरिएको छ। भिडियोको कथा तथा निर्देशनमा आफ्नै सिर्जनात्मक दृष्टिकोण प्रयोग गरिएको उनले बताएका छन्।
‘पैसा’ म्युजिक भिडियो छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।













