भोजपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा ३ करोड १९ लाखभन्दा बढीको लागतमा नयाँ शैक्षिक भवन निर्माण सुरु भएको छ। २०२२ सालमा स्थापित यस ऐतिहासिक क्याम्पसको नयाँ भवनको बुधवार एक औपचारिक कार्यक्रमका बीच शिलान्यास गरिएको हो।
भवनको शिलान्यास क्याम्पसका संस्थापक सदस्य स्व। वीरनरसिंह कार्कीका छोरा, महेन्द्र आदर्श बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवम् सहप्राध्यापक गोपालकुमार कार्कीले गर्नुभएको हो।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको बहुवर्षीय योजनाअन्तर्गत कुल ४ करोड ९८ लाख ४७ हजार ४ सय ७४ रुपैयाँ ९७ पैसा विनियोजित बजेटमा अनलाइट–सप्तकोशी–रोज जेभीले ३ करोड १९ लाख ४९ हजार ९ रुपैयाँ ५६ पैसामा निर्माणको ठेक्का पाएको हो।
नयाँ बन्ने भवनमा ५ वटा सटर, ९ वटा कक्षाकोठा र एक आधुनिक अडिटोरियम हल रहने क्याम्पस प्रमुख सहप्राध्यापक डा। पर्वत कुमार राईले जानकारी दिनुभयो। क्याम्पस प्रमुख डा। राईले यो पूर्वाधार निर्माणले क्याम्पसको शैक्षिक विकासमा ठूलो टेवा पुग्ने बताउँदै तोकिएको समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो।
कार्यक्रममा शिलान्यासकर्ता सहप्राध्यापक कार्कीले नयाँ बन्ने पूर्वाधारले क्याम्पसको पठनपाठन र समग्र शैक्षिक सुधारमा थप मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो।







