मलेसिया । जनउद्धार केन्द्र, मलेसियाको आयोजनामा भोटेकोसी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण, राहत संकलन तथा हरितालिका तीजको शुभकामना आदान–प्रदान एवं दर खाने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा भोटेकोसी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाइएको थियो। साथै, विपद्मा परेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राहत संकलन अभियानसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने विभिन्न संघ–संस्था, व्यवसायी, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी, कार्यक्रममा हरितालिका तीजको अवसरमा शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रमसमेत आयोजना गरिएको थियो। आफ्नो व्यस्त समयका बाबजुद कार्यक्रममा उपस्थित भई श्रद्धाञ्जली सभामा सहभागी हुने, राहत संकलन अभियानमा सहयोग गर्ने तथा तीज कार्यक्रममा सहभागी हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति जनउद्धार केन्द्रले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
जनउद्धार केन्द्र, मलेसियाले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय सेवा, सामाजिक सहयोग र विपद् प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता जनाएको छ।






