भोजपुर | अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको सक्रियतामा स्थापित अमेरिका नेपाल सहयोगी समाज (ANHS) ले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि करिब ९३ हजार अमेरिकी डलर सहयोग गरेको छ।

अमेरिकाको भर्जिनियामा सक्रिय समाजले राहत तथा पुनर्स्थापनाका लागि संकलन गरेको ९२ हजार ९६४ अमेरिकी डलर, अर्थात् करिब १ करोड ४२ लाख नेपाली रुपैयाँ, नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएका नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटघाट तथा अन्तरक्रियाका क्रममा नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कमा एएनएचएसका पदाधिकारी तथा प्रतिनिधिले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

चेक ग्रहण गर्दै परराष्ट्रमन्त्री खनालले विपद्को समयमा सहयोग गरेकोमा अमेरिका नेपाल सहयोगी समाजप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त रकमको उचित ढंगले सदुपयोग गरिने विश्वास व्यक्त गर्दै विदेशमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि नेपाल सरकार सकारात्मक रहेको बताउनुभयो।

कार्यक्रममा एएनएचएसकी अध्यक्ष कामना पन्थीले संस्थाको परिचय तथा सामाजिक क्षेत्रमा गर्दै आएका गतिविधिबारे जानकारी गराउनुभयो। बोर्ड अफ ट्रस्टीजका अध्यक्ष केदारप्रसाद तिम्सिना, राहत संकलन समितिका संयोजक मधुसुदन पन्थी, संस्थाका पूर्व अध्यक्ष पदमराज रेग्मी र कमला खरेलले प्रवासमा रहेका नेपालीका समस्या तथा समाधानका लागि नेपाल सरकारले चाल्न सक्ने कदमबारे सुझाव दिनुभएको थियो।

नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत शरदराज आरणको समन्वयमा आयोजित कार्यक्रमको संयोजन न्यूयोर्कस्थित महावाणिज्यदूत दधिराम भण्डारीले गर्नुभएको थियो। उपवाणिज्यदूत बलराम पाण्डेले कार्यक्रम व्यवस्थापनमा सहयोग गर्नुभएको थियो।

भोटेकोशी बाढीपहिरो पीडितका लागि सहयोग संकलन गर्न एएनएचएसले ११ सदस्यीय राहत संकलन समिति गठन गरेको थियो। समितिको संयोजकमा संस्थाका पूर्व संरक्षक तथा सल्लाहकार मधुसुदन पन्थी रहनुभएको थियो भने बोर्ड अफ ट्रस्टीजका अध्यक्ष केदारप्रसाद तिम्सिना, अध्यक्ष कामना पन्थी, पूर्व अध्यक्षहरू सागर कँडेल, पदमराज रेग्मी, कमला खरेल, कमल भट्टराई, जानु ओझा, वित्त प्रमुख तिलक खरेल, महासचिव विष्णु न्यौपाने र कोषाध्यक्ष धु्रव बराल सदस्य रहनुभएको थियो।

समितिले एएनएचएसका सदस्य, स्थानीय संघसंस्था, व्यवसायी तथा विभिन्न दातालाई राहत कोषमा स्वेच्छिक सहयोग गर्न आह्वान गरेको थियो। संस्थाले बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भर्जिनियास्थित न्याक भवनमा दीप प्रज्वलनसमेत गरेको थियो।

सन् २००८ मा अमेरिकाको भर्जिनिया राज्यको मनाससमा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाज नेपाली समुदायको साझा गैरनाफामूलक संस्था हो। अमेरिकी कानुनको ५०१(सी)(३) प्रावधानअनुसार स्थापित संस्थाले स्थापना कालदेखि नै सामाजिक, मानवीय तथा रचनात्मक क्षेत्रमा काम गर्दै आएको छ।

संस्थाले अमेरिकामा नेपाली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनसँगै नेपालमा हुने प्राकृतिक विपत्तिका बेला राहत तथा सहयोग गर्दै आएको छ। सन् २०१५ को विनाशकारी भूकम्पपछि पनि संस्थाले राहत संकलन गरी नेपालका विभिन्न क्षेत्रमा प्रत्यक्ष राहत वितरण गर्नुका साथै बाँकी रकम नेपाल सरकारको अमेरिकास्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो।

नेपाली भाषा तथा संस्कृतिको प्रवर्द्धनका लागि एएनएचएसले सन् २०१६ मा अमेरिका नेपाल शिक्षा सदन (ANHS Academy) स्थापना गरेको छ। संस्थाका अनुसार हाल अमेरिकाका विभिन्न राज्यबाट नेपाली मूलका २७० भन्दा बढी बालबालिकाले त्यहाँ नेपाली भाषा अध्ययन गरिरहेका छन्। संस्थाले आफ्नै पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रकाशन गर्दै आएको छ, जसलाई नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति प्राप्त भएको जनाएको छ।

अमेरिकामा बसोबास गर्दै आएका नेपालीसहित प्रवासी नेपाली समुदायको सामाजिक एकता र मातृभूमिप्रतिको सम्बन्धलाई बलियो बनाउँदै आएको एएनएचएसले विपद्का समयमा नेपाल तथा नेपाली समुदायलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।

यस मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, स्वयंसेवक, सदस्य तथा शुभेच्छुकप्रति अमेरिका नेपाल सहयोगी समाजले आभार व्यक्त गरेको छ।

Smart

तपाईको प्रतिक्रिया