इटहरी । ‘धानसुक्यो रापले फकाउँछ काफ्ले जानु कि नजानु’ गीतका सर्जक युवराज काफ्लेसहितको टिमले नयाँ नेपाली कथानक चलचित्र निर्माण गर्ने भएको छ। ‘अल्बेस्रो’ पात्र अर्थात् ‘बखते’लाई कथाको मुख्य केन्द्रमा राखेर निर्माण हुन लागेको चलचित्रको शुक्रबार ललितपुरस्थित महालक्ष्मी मन्दिरमा शुभमुहूर्त गरिएको छ।

शुभमुहूर्तसँगै निर्माण पक्षले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको हो। चलचित्रमा फिल्म वितरक तथा फेण्डस् सिनेमाका सञ्चालक आशिष तामाङ, प्रदीप जी धामी र युवराज काफ्लेको लगानी रहनेछ।

चलचित्रको निर्देशन चर्चित फिल्म ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले गर्ने भएका छन्। आगामी सातादेखि काठमाडौंमा चलचित्रको छायांकन सुरु हुने गीतकार तथा फिल्म निर्माता काफ्लेले जानकारी दिए।

चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहनेछन्। काफ्लेले कार्यकारी निर्माताको जिम्मेवारी सम्हाल्नेछन्। अनुराग कुँवर, शिशिर वाङ्देल, विनोद न्यौपाने, अनिल सुब्बा, उषाकिरण अधिकारी, शारदा गिरी, मिश्री थापा, सुगम दुलाल, सहिष्मा खड्का र अनिसा काफ्ले पनि चलचित्रमा देखिनेछन्। बालकलाकारका रूपमा रिन्जेन लामाले अभिनय गर्नेछन्।

शुभमुहूर्त कार्यक्रममा निर्देशक उपेन्द्र सुब्बाले आफूले निर्देशन गर्ने चलचित्रमा लामो अनुसन्धान र मेहनतमार्फत कथालाई जीवन्त बनाउने बताए। उनले कथाका पात्रअनुसार कलाकार छनोट गरिएको जनाउँदै चलचित्र नेपाली फिल्म क्षेत्रमा उल्लेखनीय बन्ने र दर्शकले रुचाउने विश्वास व्यक्त गरे।

Smart

तपाईको प्रतिक्रिया