काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार युट्युबमार्फत करिब साढे तीन मिनेट लामो टिजर सार्वजनिक गरेको हो।
सार्वजनिक टिजरमा चलचित्रका मुख्य पात्र बिके अर्थात् विजय बरालको एआईसँगको कनेक्सनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। यस्तै, काजीको भूमिकामा दयाहाङ राई र मैयाको भूमिकामा सिर्जना गुरुङको प्रवेशलाई पनि आकर्षक शैलीमा देखाइएको छ।
त्यसपछि अभिनेता विपीन कार्कीको इन्ट्रीले टिजरलाई थप रोचक बनाएको छ। उनको संवाद बोल्ने शैली र प्रस्तुतिले दर्शकको ध्यान खिच्ने देखिन्छ। टिजरको अन्त्यमा रिश्मा गुरुङको इन्ट्री देखाइएको छ।
टिजर हेर्दा ‘कबड्डी ५’को कथा अघिल्लो शृङ्खलाकै निरन्तरताका रूपमा अगाडि बढाइएको संकेत देखिन्छ। ‘कबड्डी ४ः द फाइनल म्याच’ जहाँ टुंगिएको थियो, त्यहीँबाट नयाँ कथाको सुरुवात गरिएको देखिने भएकाले चलचित्रप्रति दर्शकको कौतुहलता बढेको छ।
विशेषगरी विजय बराल र विपीन कार्कीका पात्रसँगै नयाँ मैयाका रूपमा प्रस्तुत भएकी सिर्जना गुरुङको चरित्रलाई लिएर दर्शकमाझ चासो बढेको छ। निर्देशक रामबाबु गुरुङले पनि चलचित्रमा अघिल्लो शृङ्खलाकै कथालाई निरन्तरता दिइएको बताएका छन्।
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यस वर्षको दशैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन्। यस्तै, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय छ।
यसअघि ‘कबड्डी ४ः द फाइनल म्याच’मा मुख्य भूमिकामा देखिएकी अभिनेत्री मिरुना मगरलाई भने चलचित्रका प्रचार सामग्रीमा हालसम्म लुकाइएको छ। उनको भूमिका कस्तो हुनेछ भन्ने निर्माण पक्षले खुलाएको छैन। यसअघि सार्वजनिक पोस्टरमा समेत मिरुनालाई देखाइएको थिएन भने टिजरमा पनि उनको पात्रलाई गोप्य राखिएको छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा निर्देशक रामबाबु गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।
चलचित्रका मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन्। चलचित्रलाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ भने विदेशी वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ।
यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’का चारवटै शृङ्खला बक्सअफिसमा सफल भएका थिए। पाँचौँ शृङ्खमाथि पनि दर्शकको उच्च अपेक्षा रहेकाले अघिल्ला शृङ्खलाले बनाएको सफलताको विरासतलाई निरन्तरता दिनु निर्माण टिमका लागि महत्वपूर्ण चुनौतीका रूपमा देखिएको छ।







