काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।

बिहीबार बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्ती तथा नदी तटीय क्षेत्रको भौतिक अवस्था र क्षतिको प्रत्यक्ष अवलोकन गर्नुभएको हो। स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्रीको टोली आजै काठमाडौं फर्किएको छ।

हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहनुभएको थियो। बाढीपछि उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएका प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुग्नुभएको हो।

भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्था र उद्धार तथा राहतका विषयमा विस्तृत छलफल गरेको थियो।

सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनःस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्नसमेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।

Smart

तपाईको प्रतिक्रिया