इटहरी । चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढी भोटेकोशी तथा त्रिशूली नदीमा प्रवेश गर्दा रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि उद्योग वाणिज्य संघ इटहरीले दुःख व्यक्त गर्दै तत्काल राहत तथा उद्धारमा जुट्न अपिल गरेको छ।

भदौ १० गते बिहान करिब ८ बजे आएको प्राकृतिक विपत्तिका कारण विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति संघले गहिरो दुःख व्यक्त गरेको हो। संघले विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

संघकी अध्यक्ष गायत्री कटुवाल भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोजी, प्रभावितको सुरक्षित उद्धार तथा राहतको प्रभावकारी व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

बाढीका कारण नदी तथा तटीय क्षेत्रमा रहेका घर–भवन, सडक, पुल, विद्युत् संरचना, कृषि तथा उर्वर जमिनलगायत भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको संघले जनाएको छ। प्राकृतिक विपत्तिले उद्योग–व्यवसाय क्षेत्रसमेत गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै विशेषगरी रसुवाको भन्सार क्षेत्रमा रहेका करोडौँ रुपैयाँ मूल्य बराबरका कन्टेनर, मालसामान तथा व्यावसायिक संरचनामा भएको क्षतिले निजी क्षेत्र तथा समग्र अर्थतन्त्रमा समेत गम्भीर असर पार्न सक्ने संघले जनाएको छ।

संघले प्रभावित नागरिक तथा उद्योगी–व्यवसायीको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका साथै क्षतिको उचित मूल्याङ्कन गरी आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।

त्यस्तै, आगामी दिनमा समेत बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी सूचना तथा निर्देशनको पूर्ण पालना गर्न संघले अनुरोध गरेको छ।

यस कठिन परिस्थितिमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा समुदायलाई आवश्यक सहयोग पुर्‍याउन निजी क्षेत्र, उद्योग वाणिज्य संघ–संस्था, व्यवसायी, सामाजिक संघ–संस्था तथा सम्पूर्ण सरोकारवालालाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोगमा जुट्न उद्योग वाणिज्य संघ इटहरीले हार्दिक आह्वान गरेको छ।

Smart

तपाईको प्रतिक्रिया