सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका–४ मा रहेको ऋषिदेव जातिको धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र दिनाभद्री मन्दिर परिसरमा निर्माण तथा सौन्दर्यीकरणको काम गरिएको छ।
मन्दिर परिसरको ढलान तथा रंगरोगनको काम बीएमटी लाइन इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन र गोर्खा अर्थमुभर्स प्रालि (Gorkha Earthmovers Pvt. Ltd.) को सहयोगमा सम्पन्न गरिएको हो। मन्दिर परिसरलाई व्यवस्थित, सफा र आकर्षक बनाउने उद्देश्यले आवश्यक निर्माण तथा सौन्दर्यीकरणका काम गरिएको बीएमटी लाइन इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनका विकास लिम्बूले जानकारी दिए।
मन्दिर परिसरको भौतिक संरचना सुधारसँगै स्थानीय युवाहरूले समेत श्रमदानमार्फत सक्रिय सहभागिता जनाएका छन्। युवाहरूको श्रमदान र स्थानीयस्तरबाट प्राप्त सहयोगले मन्दिर परिसरको विकास तथा संरक्षणमा थप टेवा पुगेको जनाइएको छ।
यसै क्रममा मन्दिर परिसरमा वृक्षरोपणसमेत गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको स्थललाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले विभिन्न जातका बिरुवा रोपिएको हो।
स्थानीयको सहभागिता, निजी क्षेत्रको सहयोग र युवाहरूको श्रमदानबाट मन्दिर परिसरको स्वरूपमा सुधार आउनुका साथै धार्मिक स्थलको संरक्षण र विकासमा समेत सकारात्मक योगदान पुगेको स्थानीयले बताएका छन्।
ऋषिदेव समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको दिनाभद्री मन्दिरको संरक्षण, पूर्वाधार विकास र सौन्दर्यीकरणले आगामी दिनमा धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।







