भोजपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोजपुरबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। मतदान प्रक्रियाबाट भएको प्रतिनिधि चयनमा खुला तर्फ कैलाशकुमार आलेले सर्वाधिक ७३१ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्।
भोजपुर नगरपालिकाका मेयरसमेत रहेका आलेले लगातार दुई पटक नगर प्रमुखमा निर्वाचित भएको पृष्ठभूमिसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए। विद्यार्थी मोर्चाबाट राजनीतिक यात्रा सुरु गरेका आले नेविसंघ भोजपुर बहुमुखी क्याम्पस इकाइ समितिको सभापति हुँदै नेविसंघ र तरुण दलको जिल्ला अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी नेपाली कांग्रेस भोजपुरको जिल्ला सचिवको जिम्मेवारीमा समेत रहेका थिए।
खुला तर्फ पूर्वसभापतिद्वय बालकृष्ण थापाले ६०८ र नन्दमणि राईले ६०६ मत प्राप्त गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्। टेम्केमैयुङ गाउँपालिकाका सरोज बस्नेतले ५९८ तथा वर्तमान जिल्ला सभापति विनोद बान्तवा राईले ५९० मत प्राप्त गर्दै शीर्ष पाँचमा स्थान बनाएका छन्।
निर्वाचनमा गजेन्द्रबहादुर कार्कीले ५६०, सफल किरातले ५२९, हेमन्त मुकारुङले ५२५, बाबुराम बस्नेतले ४८८ र वीरबल राईले ४६५ मत प्राप्त गरेका छन्।
भोजपुरमा कुल १ हजार ९४४ मतदाता रहेकोमा १ हजार ३११ मत खसेको थियो। खुला, विभिन्न समूह तथा समावेशी कोटासहित करिब ७० जना उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन परिणामले देखाएको छ।
यसरी खुला तर्फ सबैभन्दा बढी मत प्राप्त गरेका आले भोजपुर कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि चयनमा सर्वाधिक मत पाउने उम्मेदवार बनेका छन्।







