योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ) : समाजमा समस्या परेका नागरिकको साथमा उभिँदै आएको ‘सहयोगी मनहरू’ ले आफ्नो सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको छ। संस्थाको आयोजनामा मोरङको सुन्दरहरैंचा–११ स्थित आदर्श आधारभूत विद्यालय, तिनमुडे बस्तीमा निःशुल्क आँखा जाँच तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गोल्छा आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा आयोजित शिविरमा १६० भन्दा बढी सेवाग्राहीले आँखा परीक्षण गराएका छन्। शिविरमा आँखा परीक्षणसँगै सुगर र प्रेसरसमेत निःशुल्क जाँच गरिएको थियो। आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यतामा रहेका स्थानीयलाई लक्षित गर्दै आयोजना गरिएको शिविरले बस्तीका नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ।

‘सहयोगी मनहरू’ केवल नाममा मात्र नभई व्यवहारमै मानवीय सहयोग र सामाजिक सेवाको भावना बोकेको संस्थाका रूपमा अघि बढिरहेको संस्थाका अध्यक्ष भीम अधिकारीले बताए। समुदायमा आवश्यकतामा रहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले संस्थाले विभिन्न सामाजिक तथा सेवामूलक गतिविधि गर्दै आएको स्थानीयहरुले बताएका छन्।

अधिकारीले शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउनुहुने सम्पूर्ण सेवाग्राही तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने व्यक्ति, संस्था र प्राविधिक टोलीप्रति हार्दिक आभार व्यक्त गरे।

उनले आगामी दिनमा पनि स्थानीय समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य, शिक्षा, विपद् तथा मानवीय सेवाका क्षेत्रमा सहयोगी मनहरूलाई अझ सक्रिय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय बस्तीमा पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुले ‘सहयोगी मनहरू’को सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई थप प्रस्ट पारेको छ। अरूका दुःखमा साथ दिने र आवश्यकतामा सहयोगको हात बढाउने अभियान नै सहयोगी मनहरूको पहिचान बन्दै गएको छ।

Smart

तपाईको प्रतिक्रिया