Screenshot

इटहरी । इटहरी उपमहानगरपालिका–२०, तरहरामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घरदैलो सेवा सुरु गरिएको छ। वडा कार्यालयसम्म आउन नसक्ने अति अशक्त तथा ज्येष्ठ नागरिक लाभग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले वडा सदस्य तनुज गुरुङ वडा कार्यालयको टोलीसहित लाभग्राहीको घर–घरमा पुग्नुभएको हो।

वडा सदस्य गुरुङले जनप्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालेदेखि नै वडा कार्यालयसम्म पुग्न कठिनाइ हुने ज्येष्ठ तथा अशक्त नागरिकलाई लक्षित गरी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गराउँदै आउनुभएको बताइएको छ। विगतका वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो सेवाले यस वर्ष पनि निरन्तरता पाएको हो।

वडा कार्यालयसम्म आउन नसक्ने नागरिकलाई सेवा लिनकै लागि अनावश्यक समस्या र झन्झट व्यहोर्न नपरोस् भन्ने उद्देश्यले घरदैलोमै पुगेर नवीकरणको प्रक्रिया पूरा गर्ने व्यवस्था गरिएको वडा सदस्य गुरुङले बताउनुभयो।

वडा कार्यालयको टोलीले लाभग्राहीको आवश्यक विवरण संकलन तथा नवीकरणसम्बन्धी प्रक्रिया घरमै पुगेर पूरा गरिरहेको छ। यसबाट विशेषगरी अशक्त, ज्येष्ठ तथा हिँडडुल गर्न कठिनाइ हुने नागरिकलाई सहज भएको छ।

‘नागरिक वडा कार्यालयसम्म आउन नसके जनप्रतिनिधि नागरिकको घरदैलोमै पुग्नुपर्छ’ भन्ने भावनासहित सञ्चालन गरिएको यो अभियानले स्थानीय तहबाट प्रदान गरिने सेवालाई थप सहज, सरल र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

Smart

तपाईको प्रतिक्रिया