इटहरी । १४ वर्षमुनिका बालबालिकामा देखिने आँखासम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक उपचार उपलब्ध गराउने उद्देश्यले रोटरी क्लब अफ इटहरीले सञ्चालन गर्दै आएको आँखा परीक्षण अभियानलाई निरन्तरता दिएको छ ।

अभियानअन्तर्गत बुधबार इटहरी–८ स्थित सरस्वती सतन स्कुलका २९२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा करिब ११ प्रतिशत विद्यार्थीमा आँखासम्बन्धी समस्या देखिएको रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले जानकारी दिनुभयो ।

समस्या देखिएका बालबालिकालाई आगामी असोज ३ गते शनिबार इटहरी आँखा अस्पतालमा निःशुल्क उपचार तथा आवश्यक परामर्श उपलब्ध गराइने अध्यक्ष धमलाले बताउनुभयो ।

रोटरी क्लब अफ इटहरीले विराटनगर आँखा अस्पतालको सहकार्यमा १४ वर्षमुनिका बालबालिकाको नियमित आँखा परीक्षण तथा उपचार अभियान सञ्चालन गर्दै आएको छ । अभियानअन्तर्गत इटहरी तथा आसपासका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरूको आँखा परीक्षण गर्ने गरिएको क्लबले जनाएको छ ।

कार्यक्रम संयोजक अञ्जु शाक्यका अनुसार प्रत्येक महिनाको पहिलो शनिबार इटहरी आँखा अस्पतालमा बालबालिकाका लागि निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउँदै आइएको छ । विद्यालयमै पुगेर परीक्षण गर्दा बालबालिकामा देखिने दृष्टिसम्बन्धी समस्या प्रारम्भिक चरणमै पहिचान गर्न सहज हुने उहाँले बताउनुभयो ।

समयमै आँखासम्बन्धी समस्या पहिचान गरी आवश्यक उपचार तथा परामर्श उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट विद्यालय जाने उमेरका बालबालिका लाभान्वित हुँदै आएका छन् । क्लबले आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिँदै थप विद्यालयमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

Smart

तपाईको प्रतिक्रिया