सुन्दरहरैँचा (मोरङ) : मोरङको सुन्दरहरैँचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा विद्यार्थीहरूले आपसी प्रेम, सद्भाव र भाइचाराको सन्देशसहित रक्षा बन्धन पर्व मनाएका छन्। विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूले एकअर्कालाई रंगीचंगी राखी बाँध्दै रक्षा बन्धनको सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी लिएका थिए।कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै नेपाली मौलिक संस्कृति र परम्परालाई आत्मसात् गरेका थिए।
रक्षा बन्धनले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, विश्वास, प्रेम र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने सन्देश दिने विद्यालयका संस्थापक प्रिन्सिपल सन्तोष राईले बताए। उनले विद्यालयमा यस्ता सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीलाई आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य रहेको उल्लेख गरे।
कार्यक्रममा विद्यार्थी तथा शिक्षक–शिक्षिकाको उत्साहपूर्ण सहभागिता रहेको थियो। विद्यालयले अध्ययनसँगै विद्यार्थीलाई संस्कार, संस्कृति र सामाजिक मूल्य–मान्यतासँग जोड्ने उद्देश्यले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ। रक्षा बन्धनको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीबीच आपसी सद्भाव, एकता र आत्मीयता बढाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।







