भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले नागरिकको स्वास्थ्य उपचारलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले काठमाडौं मेडिकल कलेज (KMC) र विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालसँग उपचारमा सहुलियत दिने सम्झौता गरेको छ ।

गाउँपालिकाले २०८३ साउन २६ गते नोबेल मेडिकल कलेज र साउन २७ गते काठमाडौं मेडिकल कलेजसँग छुट्टाछुट्टै सम्झौता गरेको हो । सम्झौतापछि अरुण गाउँपालिकाका नागरिकले ती अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा तथा शल्यक्रियामा समेत छुट पाउने भएका छन् ।

सम्झौताअनुसार KMC को सिनामंगलस्थित अस्पतालमा उपचार गराउँदा २५ प्रतिशत, भक्तपुरको दुवाकोटस्थित KMC अस्पतालमा ५० प्रतिशत र विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा २० प्रतिशत छुट प्राप्त हुनेछ ।

नेपाल सरकारको स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम तथा विपन्न नागरिक औषधि उपचार कोषलगायतका सुविधा उपभोग गरिसकेपछि अस्पतालमा उपलब्ध शल्यक्रियासहित अन्य सेवामा सम्झौताअनुसार छुट लागू हुने गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य बीमामा आबद्ध नभएका वा बीमा भए पनि सक्रिय नभइसकेका नागरिकले समेत यो सहुलियत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

सहुलियत लिनका लागि बिरामीले गाउँपालिका अध्यक्ष वा तोकिएको पदाधिकारीको सिफारिस पत्र, ठेगाना खुल्ने परिचयपत्र वा नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ । १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि आवश्यक पर्नेछ ।

यसैगरी, अरुण गाउँपालिका अस्पतालमा स्वास्थ्य परीक्षण गराई थप उपचारका लागि KMC मा रिफर भएर जाने कोशी प्रदेशका अन्य स्थानका बिरामीले पनि सम्झौताअनुसारको सहुलियत पाउने भएका छन् । त्यसका लागि अरुण गाउँपालिका अस्पतालमा स्वास्थ्य जाँच गराएको प्रमाण र रिफर पत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

गाउँपालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै ‘डिजिटल अरुण, सुशासन र समृद्ध अरुण’ को लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रमा सहुलियतको व्यवस्था गरिएको जनाएको छ ।

सम्झौताबाट आर्थिक रूपमा कमजोर नागरिकलाई महँगो उपचारमा राहत पुग्ने तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार हुने गाउँपालिकाको अपेक्षा छ । गाउँपालिकाले उक्त सुविधाबारे सबै नागरिकसम्म जानकारी पुर्‍याउन जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणलाई व्यापक प्रचार–प्रसारमा सहयोग गर्नसमेत आग्रह गरेको छ ।

Smart

तपाईको प्रतिक्रिया