काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले रु ६ करोड ७५ लाख निकासा गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा उक्त रकम निकासा गरेको हो। प्राधिकरणका अनुसार निकासा भएको रकम प्रभावित स्थानीय तहलाई क्षतिको अवस्था र आवश्यकताका आधारमा वितरण गरिनेछ।
प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा रहेको रकममध्ये रु ६ करोड ७५ लाख निकासा गर्ने निर्णय गरेको थियो। अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई क्षतिको वर्गीकरणका आधारमा अनुदान सहायता उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालीका र आमाछोदिङ्मोङ गाउँपालिका, नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिका प्रभावित भएका छन्।
त्यस्तै धादिङका बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेख गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकामा भएको क्षतिको आधारमा अनुदान रकम वितरण गरिनेछ।
बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहलाई विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको छ।
त्यसरी उपलब्ध गराइएको रकम बराबरको रकम अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना उपलब्ध गराउने निर्णयसमेत भएको प्राधिकरणले जनाएको छ।







