धरान । स्वदेशमै उत्पादन भएका जुत्ता तथा चप्पलको प्रवर्द्धन गर्दै आएको नेपाली जुत्ता घरले धरानमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। इटहरी र विराटचौकमा शाखा सञ्चालन गरिसकेको नेपाली जुत्ता घरले आफ्नो तेस्रो शाखाका रूपमा धरान–१२, महेन्द्र पथस्थित एनआईसी एसिया बैंकको तल्लोपट्टि रहेको नयाँ मार्केटमा शाखा सञ्चालनमा ल्याएको हो।

धरान शाखामा नेपालमै उत्पादन भएका नेपाली ब्राण्डका जुत्ता तथा चप्पल मात्र बिक्रीका लागि राखिएको सञ्चालिका रोजिना पोखरेलले बताइन्। उनका अनुसार नेपाली जुत्ता घरमा रन सुज, स्मार्ट सुज, फर्स्टवाक सुज, शुल्याण्ड र बीएफ डियर हिल सुज गरी पाँचवटा नेपाली ब्राण्डका जुत्ता तथा चप्पल उपलब्ध छन्।

ग्राहकको फरक–फरक आवश्यकता र रोजाइलाई ध्यानमा राखेर एक हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पल राखिएको पोखरेलले बताइन्। बालबालिकादेखि जेनजी, युवा तथा वृद्धवृद्धासम्मका लागि उपयुक्त जुत्ता–चप्पल उपलब्ध रहेको उनको भनाइ छ। त्यसैगरी आमा, दिदीबहिनीका लागि विभिन्न डिजाइन, आकार र मोडलका जुत्ता तथा चप्पलसमेत उपलब्ध गराइएको उनले बताइन्।

विद्यालय जाने बालबालिका, दैनिक काम तथा कार्यालयका लागि प्रयोग हुने जुत्ता, युवा पुस्ताका लागि आकर्षक डिजाइनका जुत्ता तथा महिलाका लागि विभिन्न डिजाइनका चप्पललगायत ग्राहकको आवश्यकता अनुसारका सामग्री एउटै स्थानमा उपलब्ध गराउने प्रयास गरिएको सञ्चालिका पोखरेलले बताइन्।

नेपाली जुत्ता घरले स्वदेशी उद्योगबाट उत्पादित जुत्ता–चप्पललाई प्राथमिकता दिँदै नेपाली ब्राण्डलाई उपभोक्तासम्म पुर्‍याउने उद्देश्य राखेको जनाएको छ। नेपालमा नै उत्पादन भएका जुत्ता तथा चप्पल प्रयोग गर्दा स्वदेशी उद्योग तथा व्यवसायलाई प्रोत्साहन पुग्ने भएकाले ग्राहकलाई नेपाली उत्पादन रोज्न आग्रह गरिएको छ।

धरान शाखा सञ्चालनमा आएको अवसरमा ग्राहकका लागि विशेष छुटको व्यवस्था गरिएको छ। हाल विभिन्न जुत्ता तथा चप्पलमा १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध रहेको छ भने शाखा उद्घाटनको अवसरमा थप छुटसमेत प्रदान गरिने सञ्चालिका पोखरेलले जानकारी दिइन्।

नेपाली जुत्ता घर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। ग्राहकको सुविधालाई ध्यानमा राख्दै हप्ताको सातै दिन पसल खुला रहने जनाइएको छ।

पोखरेलका अनुसार इटहरी र विराटचौकमा शाखा सञ्चालनपछि ग्राहकबाट प्राप्त प्रतिक्रिया र नेपाली ब्राण्डप्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै धरानमा शाखा विस्तार गरिएको हो। धरानमा पनि विभिन्न उमेर समूहका ग्राहकलाई नेपाली ब्राण्डका गुणस्तरीय जुत्ता–चप्पल सहज रूपमा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताइन्।

“नेपालमै बनेका नेपाली ब्राण्डका जुत्ता–चप्पल प्रयोग गर्न सबैलाई प्रोत्साहन गर्ने हाम्रो उद्देश्य हो,” पोखरेलले भनिन्, “यस वर्षका चाडपर्वमा पनि नेपाली उत्पादन प्रयोग गरेर मनाउन सबैलाई आग्रह गर्दछौं।” उनले चाडपर्वको समयमा नेपाली उत्पादनको प्रयोग बढाउन सके स्वदेशी उद्योग, व्यवसाय र रोजगारी प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताइन्। धरान शाखाबाट ग्राहकले आफ्नो आवश्यकता, रुचि र बजेटअनुसार विभिन्न ब्राण्ड तथा मोडलका जुत्ता–चप्पल छनोट गर्न सक्ने जनाइएको छ।

Smart

तपाईको प्रतिक्रिया