इटहरी । हालै आएको बाढीका कारण घाइते तथा बिरामीको उपचारमा रगतको आवश्यकता बढ्न सक्ने भन्दै मोरङको बाँसबारीमा भोलि (भदौ १४ गते) रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

लायन्स/लियो क्लब अफ बाँसबारी र लायन्स क्लब अफ बालियाको संयुक्त आयोजनामा हुने रक्तदान कार्यक्रम २०८३ साल भदौ १४ गते (३० अगस्ट २०२६) आइतबार बिहान ७ बजेदेखि बाँसबारी चोक, मोरङमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

नेपालको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा चीनको तिब्बततर्फबाट आएको लेदोसहितको भीषण बाढीले त्रिशूली तथा नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीबाट भौतिक संरचनामा क्षति पुग्नुका साथै मानवीय क्षतिसमेत भएको अवस्थामा विपद् प्रभावित तथा घाइतेहरूको उपचारका लागि रगतको आवश्यकता पर्न सक्ने भएकाले रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटी धरान, सुनसरीको प्राविधिक सहयोगमा हुने कार्यक्रममा विभिन्न संघ-संस्था, क्लबका प्रतिनिधि, सामाजिक अभियन्ता, स्थानीयवासी तथा छरछिमेकलाई सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेको छ ।

लायन्स क्लब अफ बाँसबारीकी अध्यक्ष पवित्रा गौतम भण्डारीले विपद्को समयमा रक्त अभाव हुन नदिन तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनले एक पटकको रक्तदानले आवश्यक परेका बिरामी तथा घाइतेको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताइन् ।

त्यस्तै, लायन्स क्लब अफ बालियाकी अध्यक्ष प्रश्ना सिग्देल खनालले विपद्को यस घडीमा रक्तदान गरी मानवीय सेवामा जोडिन सबैलाई आह्वान गरेकी छन्। उनले रक्तदान जीवन बचाउने महत्वपूर्ण कार्य भएकाले समय निकालेर कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरेकी हुन् ।

“रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने सन्देशसहित आयोजना हुने कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले सबैलाई अनुरोध गरेको छ ।

Smart

तपाईको प्रतिक्रिया