काठमाडौं । रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्।
बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट संकलन गरिएको रकमबाट खाद्यान्न तथा लत्ताकपडा खरिद गरी राहत सामग्री तयार गरिएको हो।
उक्त राहत सामग्री नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। नेपाली सेनामार्फत राहत सामग्री रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्याइने बताइएको छ।
विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कर्मचारीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा रकम संकलन गरी राहत सामग्री खरिद गरेका हुन्।
मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै गरिएको यस सहयोगले बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको छ।
कर्मचारीहरूले आगामी दिनमा पनि यस्ता विपद्का समयमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।







