फरार प्रतिवादी पक्राउ गर्न लेटाङ प्रहरी सक्रिय, १४ जनालाई पक्राउ गरी अदालत बुझाइए

Listen to this article
1 minute read

योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ) : विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भएर फरार रहेका १४ जना प्रतिवादीलाई इलाका प्रहरी कार्यालय लेटाङले पक्राउ गरी अदालत बुझाएको छ। मोरङ जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसला तथा आदेशअनुसार कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बिना इजाजत वन पैदावर ओसारपसार, सवारी ज्यान, लागुऔषध, चेक अनादर, अभद्र व्यवहार तथा चोरीजस्ता मुद्दाका फरार प्रतिवादी रहेका छन्। पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका–१ का आनन्द राई र हरि बहादुर राई रहेका छन्।

उनीहरूलाई बिना इजाजत वन पैदावर ओसारपसार मुद्दामा क्रमशः १ महिना १६ दिन र १ महिना १२ दिन कैदसँगै रु. ४३ हजार १२६ जरिवाना सजाय ठहर भएको थियो। यस्तै लेटाङ–८ का तिर्थ बहादुर राई र अमृत बहादुर राईलाई सोही मुद्दामा जनही रु. ५४ हजार ५७९ जरिवाना ठहर भएको थियो। लेटाङ–९ का बल बहादुर राईलाई रु. २ हजार ८६१ जरिवाना सजाय रहेको प्रहरीले जनाएको छ।

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी लेटाङ–५ का विजय भन्ने पूर्णबहादुर राना मगरलाई १ महिना १२ दिन कैद तथा लेटाङ–१ की एलिसा राईलाई सवारी ज्यान अंगभंग मुद्दामा ३ महिना कैद सजाय रहेको थियो। त्यसैगरी लागुऔषध मुद्दामा लेटाङ–३ का अशोक भन्ने समिर राईलाई १६ दिन कैद तथा लेटाङ–६ का विकल बजी लिम्बुलाई १५ दिन कैद र रु. २ हजार जरिवाना सजाय तोकिएको थियो।

सवारी ज्यान मुद्दाका लेटाङ–३ का संजय साह, चेक अनादर मुद्दाका लेटाङ–८ का पदमबहादुर मगर, अभद्र व्यवहार मुद्दाका लेटाङ–४ का दौलत राई र सुमन भन्ने लोकबहादुर राई तथा चोरी मुद्दाका सुनसरी इटहरी–२ का मेघनाथ उपाध्याय ढकाललाई समेत पक्राउ गरी अदालत बुझाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर शाहले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको बताए। उनले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन विशेष टोली परिचालन गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने जानकारी दिए।

 “अदालतको फैसला कार्यान्वयन गराउनु प्रहरीको मुख्य जिम्मेवारी हो, त्यसैले फरार रहेका प्रतिवादीहरूलाई खोजी गरी कानुनी दायरामा ल्याउने कामलाई थप प्रभावकारी बनाइनेछ,” प्रहरी निरीक्षक शाहले भने।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *