इटहरी | नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा सम्भावित हिमनदी विस्फोटबाट प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनःउत्थानका लागि लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) ले २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ८ लाख रुपैयाँ बराबरको ‘मेजर क्याटास्ट्रोफी ग्रान्ट’ प्रदान गरेको छ।
लायन्सका अनुसार उक्त रकम स्थानीय लायन्स क्लबमार्फत प्रभावित परिवारलाई खाद्यान्न, सुरक्षित आश्रय, स्वास्थ्य सेवा तथा अत्यावश्यक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ।
साथै, विपद्पछि प्रभावित समुदायको दीर्घकालीन पुनर्निर्माण र पुनःउत्थानका कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।
लायन्स इन्टरनेसनलका डाइरेक्टर राजन लाम्सालले विपद्को समयमा राहतको गति महत्वपूर्ण हुने भन्दै प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन लायन्स विश्वव्यापी रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
उनले उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी निकाय, सामाजिक संस्था, दातृ निकाय तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
‘विपद् आउँदा सहयोग पर्खिँदैन—सहयोगको सुरुवात तपाईंबाट हुन्छ’ भन्ने सन्देशसहित लायन्सले विश्वभरका सदस्य, दातृ निकाय तथा शुभेच्छुकलाई राहत अभियानमा जोडिन आह्वान गरेको छ।
लायन्स क्लब्स इन्टरनेसनल र LCIF ले आपत्कालीन राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्म प्रभावित समुदायलाई निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।







