पोखरा : भोटेकोशी बाढीले निम्त्याएको मानवीय विपत्तिको पीडा पोखराको शवगृहसम्म आइपुगेको छ। बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि आफन्तहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन्।
तर शव पहिचानका क्रममा एउटा शवमा भने तीन छुट्टाछुट्टै परिवारले आफ्नै आफन्त भएको दाबी गरेका छन्। शवको अवस्था तथा उपलब्ध पहिचानका आधारबाट यकिन हुन नसकेपछि प्रहरीले डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार एउटै शवमा तीन परिवारले दाबी गरेपछि वास्तविक पहिचानका लागि डीएनए परीक्षण गरिने भएको हो। परीक्षणको रिपोर्ट आएपछि मात्रै शव कसको हो भन्ने यकिन हुने उनले बताए।भोटेकोशी बाढीले बगाएर ल्याएका १ सय २ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ। अधिकांश शव क्षतविक्षत अवस्थामा रहेका छन्। केही शव सग्ला नभएको तथा कतिपयका हातखुट्टामात्रै भेटिएको प्रहरीले जनाएको छ।
यस्तो अवस्थामा आफन्तहरूले कपडा, गहना, ट्याटु तथा शरीरमा रहेका अन्य चिन्हका आधारमा आफ्ना प्रियजनको शव पहिचान गर्ने प्रयास गरिरहेका छन्।
नुवाकोटका राजकुमार तामाङले आफ्ना पाँच वर्षीय छोरा प्रिन्सको शव विद्यालयको टाइ र घाँटीमा रहेको मालाबाट पहिचान गरेका थिए। त्यस्तै भक्तपुरका सत्यकृष्ण पराजुलीले आफ्ना दाजु सत्यसुन्दर प्रजापतिको शव घाँटीमा रहेको ट्याटुका आधारमा पहिचान गरेका थिए।
तर सबै शवमा यस्ता स्पष्ट पहिचान खुल्ने संकेत भेटिन सम्भव छैन। एउटै शवमा तीन परिवारले दाबी गरेपछि बाढीमा आफन्त गुमाएका परिवारको पीडा थप जटिल बनेको छ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि एक हजारभन्दा बढी आफन्त पुगेका छन्। प्रहरीले सहायता कक्षमार्फत आफन्तलाई शव पहिचानमा सहजीकरण गरिरहेको छ।







