इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी कार्यसमितिको निर्वाचन २०८३ साल असार २७ गते सम्पन्न हुने भएको छ। संघको निर्वाचन समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।
संघका निर्वाचन अधिकृत टंक प्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार उद्योग वाणिज्य संघ इटहरीको विधान बमोजिम गठन गरिएको निर्वाचन समितिले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित तथा पारदर्शी ढंगबाट सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
विज्ञप्तिमा २०४० सालमा स्थापना भएको उद्योग वाणिज्य संघ इटहरीले उद्योगी–व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा स्थानीय आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ। २०७९ साल माघ २६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित वर्तमान कार्यसमितिको कार्यकाल समाप्त हुन लागेकाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम तय गरिएको जनाइएको छ।
निर्वाचन समितिले सरोकारवाला सबै पक्ष, उद्योगी–व्यवसायी, आम सदस्य तथा सञ्चारकर्मीहरूको सहयोग र सुझावको अपेक्षा गरेको छ।
सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार असार १ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिनेछ भने असार ८ गते अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ। उम्मेदवार मनोनयन फाराम वितरण असार ९ गते र मनोनयन दर्ता असार ११ गते हुनेछ।
त्यसैगरी उम्मेदवारहरूको अन्तिम नामावली असार २१ गते प्रकाशन गरिनेछ। मतदान कार्यक्रम असार २७ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म उद्योग वाणिज्य संघ इटहरीको प्राङ्गणमा सञ्चालन हुनेछ।
मतगणना सोही दिन मतदान सम्पन्न भएपछि उद्योग वाणिज्य संघको भवनमा गरिने र मतगणना सकिएलगत्तै निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।












