स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

पथरी शनिश्चरेमा जंगली फल बने विष ! पथरी शनिश्चरेमा १२ बालबालिका अस्पताल भर्ना

मोरङ : मोरङको पथरी शनिश्चरे नगरपालिका–६ मंगलबारेमा विषालु जंगली फल खाँदा १२ जना बालबालिका सिकिस्त बिरामी परेका छन्।

स्थानीय स्रोतका अनुसार आज बेलुका राया टोल नजिकको खोलामा नुहाउन गएका बालबालिकाहरू घर फर्किने क्रममा बाटोमा भेटिएको ‘दतिउन’ भनेर चिनिने जंगली वनस्पतिको फल खाएका थिए। फल सेवन गरेको केही समयमै उनीहरूलाई लगातार वान्ता हुन थालेपछि स्वास्थ्य अवस्था बिग्रिएको थियो।

वडा सदस्य विजय मण्डलका अनुसार मण्डल बस्तीका १० देखि १५ वर्ष उमेर समूहका १२ जना बालबालिका उक्त फल खाँदा बिरामी परेका हुन्। स्थानीयवासीले बालबालिकाले विषालु फल खाएको जानकारी पाएपछि तत्काल उद्धार गरी उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याएका थिए।

बिरामीमध्ये केही बालबालिकाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई आईसीयूमा राखेर उपचार भइरहेको वडा सदस्य मण्डलले बताएका छन्। अन्य बालबालिकाको पनि चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको जनाइएको छ।

घटनापछि स्थानीय अभिभावकहरू चिन्तित बनेका छन्। बालबालिकालाई अपरिचित जंगली फलफूल तथा वनस्पति सेवन नगर्न सचेत रहन चिकित्सक र स्थानीय जनप्रतिनिधिले आग्रह गरेका छन्। घटनाबारे थप विवरण संकलन भइरहेको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *