इटहरी / नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा, सुनसरीको आयोजनामा “रक्तसञ्चार सेवा सञ्चालन तथा सेवामूलक संस्थाहरूको दीर्घकालीन स्थायित्व र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा इटहरी रेडक्रससँग आबद्ध विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। सहभागीहरूले रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन, सेवामूलक संस्थाहरूको दिगोपना तथा भविष्यका चुनौती र समाधानका विविध पक्षबारे गहन छलफल गरेका थिए।
छलफलका क्रममा इटहरीमा ब्लड बैंक सञ्चालन गर्नु वर्तमान समयको अपरिहार्य आवश्यकता तथा जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण विषय रहेको धारणा व्यक्त गरियो। यस कार्यलाई सफल बनाउन सरकारी निकाय, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा समुदायबीच सकारात्मक पहल, आपसी सहकार्य र दृढ प्रतिबद्धता आवश्यक रहेकोमा सहभागीहरू एकमत देखिएका थिए।

कार्यक्रममा यस्ता संवाद, सहकार्य र साझा प्रयासहरूले भविष्यमा रक्तसञ्चार सेवालाई अझ प्रभावकारी, सहज, सर्वसुलभ तथा दिगो बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो। साथै, स्थानीय स्तरमा रक्तदान तथा रक्तसञ्चार सेवाको पहुँच विस्तार गर्न सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।













