इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा बढ्यो सरगर्मी, नेतृत्वका लागि कडा प्रतिस्पर्धा

Listen to this article
1 minute read

इटहरी । इटहरी उद्योग वाणिज्य संघको आगामी असार २७ गते हुने निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चुनावी माहोल तातेको छ। नेतृत्वका लागि विभिन्न समूह सक्रिय बनेसँगै सदस्यता नवीकरण, मतदाता नामावली तथा मताधिकारका विषयसमेत चुनावी बहसका प्रमुख मुद्दा बनेका छन्।

यसपटक अध्यक्ष पदका लागि विभिन्न राजनीतिक विचारधारासँग निकट व्यवसायी समूहबीच प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यवसायीहरूको नैतिक समर्थन नवराज काफ्ले समूहलाई रहेको चर्चा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीहरूले गायत्री कटवाल (भण्डारी) नेतृत्वको समूहलाई समर्थन गरेका छन्। यद्यपि कुनै पनि राजनीतिक दलले औपचारिक रूपमा उम्मेदवार घोषणा वा चुनावी गठबन्धन नगरेको जनाइएको छ।

रोचक पक्ष के छ भने काफ्ले र भण्डारी दुवै कांग्रेस निकट व्यवसायीका रूपमा चिनिन्छन्। यद्यपि निर्वाचनमा उनीहरू फरक समूहबाट प्रतिस्पर्धामा उत्रिएका छन्।

व्यवसायीहरूका अनुसार पछिल्ला केही कार्यकालदेखि संघको निर्वाचन थप प्रतिस्पर्धात्मक बन्दै गएको छ। पहिले सीमित दायरामा हुने नेतृत्व चयन अहिले संघको विस्तारसँगै प्रतिष्ठाको विषय बन्न थालेको छ। चुनावी खर्च बढ्दै जानु, व्यवसायीहरू विभिन्न समूहमा विभाजित हुनु तथा प्रचारप्रसार व्यापक हुनु यसको प्रमुख कारणका रूपमा हेरिएको छ।

निर्वाचनको अर्को महत्वपूर्ण पक्ष सदस्यता नवीकरण र मतदाता नामावली बनेको छ। इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीका अनुसार विगतमा करिब ६ हजार ५ सय व्यवसायी मतदाता रहेको दाबी गरिँदै आए पनि यस वर्ष करिब २ हजार ३ सय ७० जनाले मात्र सदस्यता नवीकरण गरेका छन्। विधानअनुसार सदस्यता नवीकरण गरेका व्यवसायीहरूले मात्र मतदानमा सहभागी हुन पाउने व्यवस्था रहेको उनले बताए।

निर्वाचन कार्यतालिका अनुसार असार ११ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुने र त्यसपछि औपचारिक चुनावी अभियान सुरु हुने पराजुलीले जानकारी दिए। उनले निर्वाचन स्वस्थ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै जुनसुकै पक्ष विजयी भए पनि व्यवसायीको हकहित र संस्थाको गरिमालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

यता, केही व्यवसायीहरूले सदस्यता नवीकरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सबै व्यवसायीलाई समान अवसर सुनिश्चित गरिनुपर्ने धारणा राखेका छन्। निर्वाचनसँग सम्बन्धित जिज्ञासा र चासोलाई पारदर्शी रूपमा सम्बोधन गर्न सके संघप्रति व्यवसायीहरूको विश्वास अझ बलियो बन्ने उनीहरूको भनाइ छ।

स्थानीय व्यवसायीहरूको साझा संस्था मानिने इटहरी उद्योग वाणिज्य संघको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले केवल व्यावसायिक क्षेत्र मात्र होइन, स्थानीय आर्थिक गतिविधिलाई समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ। यही कारण यसपटकको निर्वाचनलाई व्यवसायीहरूले विगतका निर्वाचनभन्दा बढी चासोका साथ हेरिरहेका छन्।

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण, कर तथा नीतिगत सुधार, बजार व्यवस्थापन, व्यवसायीको सुरक्षा, बैंकिङ समस्याको समाधानलगायतका विषयलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। मतदातासँगको भेटघाट र चुनावी अभियान तीव्र बन्दै जाँदा इटहरीको व्यावसायिक क्षेत्रमा चुनावी सरगर्मी दिनप्रतिदिन बढिरहेको छ।

व्यवसायीहरूले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको रूपमा लिँदै सबै पक्षलाई पारदर्शी, निष्पक्ष र व्यवसायीको साझा हितलाई केन्द्रमा राखेर प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्। निर्वाचनपछि संघलाई सबै व्यवसायीको साझा र सशक्त संस्थाका रूपमा अगाडि बढाउनु आवश्यक रहेको उनीहरूको धारणा छ।

असार २७ गते हुने निर्वाचनले इटहरी उद्योग वाणिज्य संघको आगामी नेतृत्व तय गर्ने भएकाले यसलाई इटहरीको व्यावसायिक क्षेत्रले विशेष महत्वका साथ हेरिरहेको छ ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *