धादिङ । नेपाल तरुण दलको नेतृत्वमा भदौ १० गतेको भीषण बाढीबाट प्रभावित धादिङको गल्छी अस्पतालमा सरसफाइ तथा आवश्यक व्यवस्थापनको काम तीव्र पारिएको छ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनीष कोइरालाको नेतृत्वमा, नेपाल तरुण दल विपद् व्यवस्थापन समितिका संयोजक सिंहविक्रम पाण्डे, धादिङ जिल्ला अध्यक्ष शंकर धमलालगायत तरुण दलका नेता तथा युवाहरूको सक्रिय सहभागितामा अस्पताल परिसरको सरसफाइ तथा व्यवस्थापन कार्य भइरहेको हो।
बाढीका कारण प्रभावित अस्पताललाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यले गरिएको सरसफाइ कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ। अस्पताललाई भोलिसम्ममा पुनः सञ्चालनमा ल्याउने गरी आवश्यक व्यवस्थापनको काम भइरहेको बताइएको छ।
विपद्को समयमा जनताको साथमा रहने प्रतिबद्धताअनुसार नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनीष कोइरालाको नेतृत्वमा तरुण युवाहरू निरन्तर जनसेवामा सक्रिय हुँदै आएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा समेत तरुण दलका नेता तथा कार्यकर्ताहरू परिचालित भइरहेका छन्।







