सुन्दरहरैँचाको नयाँ कार्की टोलमा जीर्ण सडकको विरोधमा स्थानीयद्वारा सडक अवरुद्ध

Listen to this article
1 minute read


सुन्दरहरैँचा( मोरङ) : मोरङको सुन्दरहरैँचा नगरपालिका–२ अन्तर्गत मझुवा रोडमा पर्ने नयाँ कार्की टोलको सडक लामो समयदेखि जीर्ण अवस्थामा रहेपछि स्थानीयवासीले आन्दोलनस्वरूप सडक अवरुद्ध गरेका छन्।

पटक–पटक वडा कार्यालय तथा सम्बन्धित निकायलाई सडक मर्मतका लागि आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै स्थानीयले सडक बन्द गरी विरोध जनाएका हुन्।

स्थानीयका अनुसार सडकमा ठूला–ठूला खाल्डाखुल्डी परेका छन्। सामान्य वर्षा हुँदा सडक हिलाम्मे भएर पैदल हिँड्नसमेत मुस्किल पर्ने अवस्था छ भने घाम लागेका बेला अत्यधिक धुलो उड्ने गरेको छ।

सडकको दयनीय अवस्थाले दैनिक रूपमा विद्यालय जाने विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी, मोटरसाइकल चालक तथा अन्य सवारीसाधन चालकलाई निकै सास्ती भोग्नुपरेको उनीहरूको गुनासो छ।

स्थानीयवासीले सडक मर्मतका लागि पटक–पटक वडा कार्यालयमा जानकारी गराए पनि आश्वासनबाहेक कुनै ठोस काम नभएको आरोप लगाएका छन्। जनप्रतिनिधि र सम्बन्धित निकायले समस्या समाधानमा चासो नदिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

स्थानीयका अनुसार सडकको अवस्थाबारे पटक–पटक जानकारी गराउँदा “छिट्टै काम हुन्छ” भन्ने आश्वासन मात्रै दिइयो, तर सडक सुधारका लागि कुनै काम अघि बढाइएन। समस्या झन् जटिल बन्दै गएपछि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले सडक अवरुद्ध गर्न बाध्य भएको उनीहरूको भनाइ छ।

सडक बन्द गरिएपछि उक्त सडकखण्ड भएर सञ्चालन हुने साना तथा ठूला सवारीसाधन प्रभावित भएका छन्। केही सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गरेका छन् भने स्थानीय बासिन्दाले समेत दैनिक आवतजावतमा असहजता भोगिरहेका छन्। आन्दोलनका क्रममा स्थानीयले सडकको तत्काल मर्मत, स्तरोन्नति तथा दीर्घकालीन समाधानको माग गरेका छन्।

स्थानीयवासीले सडकको समस्या तत्काल समाधान नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्। उनीहरूले जनप्रतिनिधि, वडा कार्यालय र नगरपालिकाले नागरिकको आधारभूत आवश्यकता र सुरक्षाप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

नयाँ कार्की टोलको यो सडक स्थानीय बासिन्दाका लागि मात्र नभई आसपासका बस्तीलाई जोड्ने महत्वपूर्ण मार्गका रूपमा प्रयोग हुँदै आएको छ। तर लामो समयदेखि मर्मत नहुँदा सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको र दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ।

यस विषयमा सुन्दरहरैँचा नगरपालिका–२ वडा कार्यालयसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म आधिकारिक धारणा प्राप्त हुन सकेको छैन। स्थानीयले भने सम्बन्धित निकायले तत्काल पहल गरी सडक मर्मतको काम सुरु गरे आन्दोलन स्थगित गर्न सकिने बताएका छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *