इटहरी / इटहरी उपमहानगरपालिका–१७ अन्तर्गत कान्छीचोकबाट चतरा प्रवेश गर्ने मुख्य सडकखण्डमा बढ्दो सडक अतिक्रमणका कारण दैनिक सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको भन्दै स्थानीयवासीले तत्काल व्यवस्थापनको माग गरेका छन् ।
महेन्द्र राजमार्गअन्तर्गत हक्राहा खोला पुलको पश्चिमतर्फ र इलाका प्रहरी कार्यालय पकलीको पूर्वतर्फको बीचबाट चतरा हुँदै बि.पी. राजमार्ग तथा मदन भण्डारी राजमार्गसँग जोडिने यो सडक पूर्वी नेपालको महत्वपूर्ण र अत्यन्त व्यस्त सडकमार्गका रूपमा परिचित छ। तर कान्छीचोकबाट चतरा छिर्ने प्रवेशद्वार क्षेत्रमा सडक अतिक्रमण र अव्यवस्थित बसोबासका कारण सडक साँघुरिँदै गएको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार सडक साँघुरो हुँदा दैनिक ट्राफिक जाम हुने गरेको छ। जामका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको मात्रै होइन, दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ। विशेषगरी एम्बुलेन्स, दमकल लगायतका आपतकालीन सेवाका सवारी साधनहरू समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था सिर्जना भएको बताइन्छ।
स्थानीयवासीहरूले सार्वजनिक सडक क्षेत्रको संरक्षण गर्दै अतिक्रमण हटाउन, सडकको चौडाइ कायम गर्न तथा व्यवस्थित सहरी विकासका लागि इटहरी उपमहानगरपालिका, सडक डिभिजन कार्यालय र सम्बन्धित सरोकारवाला निकायले समयमै आवश्यक पहल गर्नुपर्ने माग गरेका छन् ।
यस विषयमा नागरिकहरूले इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक व्यवस्थापनमा ढिलाइ भए भविष्यमा समस्या अझ जटिल बन्न सक्ने चेतावनी दिएका छन्।
स्थानीयको भनाइमा, “यो सडक केवल इटहरी–चतरा आवागमनका लागि मात्र नभई बि.पी. राजमार्ग र मदन भण्डारी राजमार्ग जोड्ने रणनीतिक मार्ग भएकाले यसको व्यवस्थापनमा विशेष प्राथमिकता दिन आवश्यक छ।”
सरोकारवालाहरूले समयमै ध्यान दिए सडक जाम, दुर्घटना जोखिम तथा आपतकालीन सेवामा देखिएको अवरोध न्यूनीकरण हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।













