इटहरी: इटहरी उद्योग वाणिज्य संघको निर्वाचन आगामी असार २७ गते सम्पन्न हुने तयारी भइरहेका बेला व्यवसायिक वृत्तमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।
प्राप्त जानकारीअनुसार प्रमुख राजनीतिक दल निकट समूहहरूबीच भएको समझदारीपछि अध्यक्ष पदका आकांक्षीहरू बदबहादुर न्यौपाने र नवराज काफ्लेबीच साझा उम्मेदवार चयनको प्रक्रिया अघि बढाइएको छ। उक्त सहमतिअनुसार नवराज काफ्लेलाई साझा उम्मेदवारका रूपमा अगाडि सारिएको बताइएको छ।
यता, स्वतन्त्र व्यवसायीहरूको प्रतिनिधित्व गर्दै जि.फोर कलेक्सनकी सञ्चालक तथा रेडिमेड व्यवसायी संघकी संस्थापक अध्यक्ष गायत्री भण्डारीले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको स्रोतले जनाएको छ। लामो समयदेखि व्यवसायीहरूको हकहित, व्यवसायिक वातावरण सुधार तथा संस्थागत सुदृढीकरणका विषयमा सक्रिय रहँदै आएकी भण्डारीलाई स्वतन्त्र व्यवसायीहरूको महत्वपूर्ण समर्थन रहेको चर्चा व्यवसायिक क्षेत्रमा सुनिन थालेको छ।
यसैबीच, संघको अघिल्लो कार्यसमिति सदस्य तथा विधान संशोधन समितिमा संलग्न दिलीप पराजुली पनि अध्यक्ष पदका आकांक्षीमध्ये एक रहेका थिए । कार्यसमितिमा रहँदा विभिन्न नीतिगत विषयमा स्वतन्त्र धारणा राख्दै आएका पराजुलीले संस्थागत सुधार, पारदर्शिता तथा व्यवसायीमैत्री व्यवस्थाको पक्षमा आवाज उठाउँदै आउनुभएको व्यवसायीहरू बताउँछन्।
व्यवसायिक स्रोतहरूका अनुसार हालै पराजुली र भण्डारीबीच संस्थागत सुधार तथा स्वतन्त्र व्यवसायीहरूको साझा हितलाई केन्द्रमा राखेर सहकार्य गर्ने समझदारी बनेको छ। दुवै पक्षले उद्योग वाणिज्य संघलाई राजनीतिक प्रभावभन्दा माथि उठाएर व्यवसायीहरूको साझा संस्था बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
व्यवसायी समुदायका केही सदस्यहरूले संघभित्र देखिएको गठबन्धन राजनीतिप्रति असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र र व्यवसायीमुखी नेतृत्वको आवश्यकता रहेको बताएका छन्। उनीहरूका अनुसार आगामी निर्वाचनमा व्यवसायीहरूको वास्तविक मुद्दा, संस्थागत सुधार, विधान संशोधन तथा व्यवसायी अधिकारका विषयहरू मुख्य एजेन्डाका रूपमा उठ्ने अपेक्षा गरिएको छ।

यद्यपि निर्वाचनको परिणाम कस्तो रहनेछ भन्ने विषयमा अहिले नै अनुमान गर्न कठिन भए पनि यसपटकको चुनावले इटहरी उद्योग वाणिज्य संघको भावी दिशा र नेतृत्व चयनमा महत्वपूर्ण प्रभाव पार्ने व्यवसायिक वृत्तको बुझाइ रहेको छ।












