विद्यार्थीलाई कुलतबाट जोगाउन आश्रय सुधार केन्द्रको विद्यालय केन्द्रित अभियान

Listen to this article
1 minute read

सुन्दरहरैँचा (मोरङ) : मोरङको सुन्दरहरैँचा–८ स्थित ब्राइट फ्युचर स्कुलमा लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। ब्राइट फ्युचर बाल क्लबको आयोजनामा तथा सुन्दरहरैँचा–३, गछियास्थित आश्रय सुधार तथा उपचार केन्द्रको संयोजनमा कार्यक्रम सम्पन्न गरिएको हो। बाल क्लबका अध्यक्ष प्रयुस ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका सञ्चालक कृष्ण ढकाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा बाल क्लबकी संरक्षक शर्मिला कार्कीले बालबालिकाको समग्र विकास, नैतिक शिक्षा तथा लागूपदार्थ दुर्व्यसनबाट टाढा राख्न यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई सकारात्मक सोच, असल आचरण र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रमका सहजीकर्ता तथा वरिष्ठ मनोविमर्शकर्ता टिकाराम सिग्देलले लागूपदार्थ दुर्व्यसनका कारण, यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव तथा त्यसबाट जोगिने प्रभावकारी उपायबारे जानकारी गराउनुभयो। उहाँले विशेषगरी बालबालिका तथा युवाहरूलाई गलत संगत र कुलतबाट टाढा रही शिक्षा, खेलकुद, सिर्जनात्मक गतिविधि तथा सकारात्मक जीवनशैली अपनाउन आग्रह गरे।

त्यसैगरी, आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले केन्द्रले उपचारमा मात्र सीमित नभई विद्यालय–विद्यालय पुगेर लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले समयमै सचेतना फैलाउन सके भविष्यका पुस्तालाई दुर्व्यसनबाट जोगाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागूपदार्थ दुर्व्यसनविरुद्ध आफू सचेत रहने, आफ्ना साथीहरूलाई पनि सचेत गराउने तथा स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रमुख अतिथि कृष्ण ढकालले विद्यालयमा सञ्चालन हुने यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, अनुशासन, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने बताउँदै आयोजक तथा सहकार्य गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रमको समापन गर्दै सभापति प्रयुस ढकालले बाल क्लबले आगामी दिनमा पनि बालअधिकार, स्वास्थ्य, वातावरण संरक्षण, नेतृत्व विकास तथा सामाजिक सचेतनासम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने आश्रय सुधार तथा उपचार केन्द्र, विद्यालय परिवार, शिक्षक–शिक्षिका, विद्यार्थी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। आश्रय सुधार तथा उपचार केन्द्रले पछिल्लो समय उपचार र पुनःस्थापनासँगै विद्यालय तथा समुदायमा पुगेर लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना अभिवृद्धि गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *