कोशी प्रदेशको पर्यटन विकासमा लगानी, दिगोपना र सीमापार सहकार्यमा जोड

Listen to this article
1 minute read

इटहरी । कोशी प्रदेशको पर्यटन क्षेत्रलाई दिगो, व्यवस्थित र लगानीमैत्री बनाउने उद्देश्यले शुक्रबार आयोजित उच्चस्तरीय कोशी पर्यटन संवाद सम्पन्न भएको छ। प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा पर्यटन क्षेत्रका नीति निर्माता, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, पर्यटन व्यवसायी तथा विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको अध्यक्षतामा भएको थियो भने मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उद्घाटन सत्रमा पर्यटन क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे धारणा राख्दै वक्ताहरूले कोशी प्रदेशलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा “किन घुम्ने कोशी प्रदेश” विषयक भिडियो प्रस्तुति गरिएको थियो। त्यसपछि कोशी प्रदेशमा आरोग्य पर्यटन तथा पर्वतीय पर्यटनको सम्भावना र दिगो विकास सम्बन्धी मुख्य कार्यपत्र प्रस्तुत गरिएको थियो। वक्ताहरूले प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणसँगै पर्यटन पूर्वाधार विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

त्यसपछि आयोजित “कोशीमा पर्यटन विकास संवाद” प्लेनरी सत्रमा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, सार्वजनिक–निजी साझेदारी, पर्यटन पूर्वाधार विकास तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल भएको थियो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, प्रदेश लगानी प्राधिकरण तथा निजी क्षेत्रका प्रतिनिधिहरूले पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन आवश्यक पहलबारे धारणा राखेका थिए।

त्यसैगरी “गाउँको पर्यटन, शहरका पर्यटक” विषयक सत्रमा ग्रामीण पर्यटनको विकास, स्थानीय समुदायको सहभागिता, होमस्टे प्रवर्द्धन तथा पर्यटनलाई गाउँसम्म विस्तार गर्ने विषयमा छलफल भएको थियो। स्वदेशी र विदेशी पर्यटन विज्ञहरूले सफल अभ्यासहरू प्रस्तुत गर्दै ग्रामीण पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्ने सुझाव दिएका थिए।

दिउँसो आयोजित “सीमापार पर्यटन” विषयक अन्तिम प्लेनरी सत्रमा नेपाल–भारतबीच पर्यटन प्रवर्द्धन, सहज आवागमन, सीमावर्ती पर्यटकीय गन्तव्यको विकास तथा अन्तरदेशीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा सरोकारवालाहरूबीच विचार आदान–प्रदान भएको थियो।

दिनभर सञ्चालन भएका विभिन्न सत्रहरूमा सहभागीहरूले कोशी प्रदेशमा पर्यटन क्षेत्रको दिगो विकास, निजी क्षेत्रको लगानी आकर्षण, रोजगारी सिर्जना तथा प्रदेशको समग्र आर्थिक विकासमा पर्यटनको भूमिकालाई थप सशक्त बनाउन साझा प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम समापनसँगै कोशी प्रदेशको पर्यटन विकासका लागि नीतिगत सहकार्य, लगानी विस्तार र दिगो पर्यटन प्रवर्द्धनमा जोड दिइएको आयोजकले जनाएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *