पर्यटनको सम्भावना उजागर गर्दै ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

Listen to this article
1 minute read

इटहरी / कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र पर्यटन सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित कोशी (गन्तव्य अनुभव सम्भावना)’ पुस्तकमाथि शनिबार इटहरीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहे पनि त्यसको प्रभावकारी प्रचार–प्रसार, अध्ययन तथा प्रवर्द्धनका क्षेत्रमा अझै पर्याप्त काम हुन नसकेको बताएका छन्।

कार्यक्रममा उपप्राध्यापक तथा अनुसन्धानकर्मी अर्जुन उप्रेती र पत्रकार विराट अनुपमले पुस्तकमाथि परिचर्चा गरेका थिए।

परिचर्चाका क्रममा उप्रेतीले पुस्तकले कोशी प्रदेशका पर्यटकीय गन्तव्यलाई इतिहास, संस्कृति, भूगोल, स्थानीय अनुभूति र पर्यटन विकासका सम्भावनासहित पाठकमाझ प्रस्तुत गर्ने प्रयास गरेको बताए।

पर्यटन विकासका लागि पूर्वाधार निर्माणसँगै अनुसन्धानमा आधारित लेखन र पर्यटकीय गन्तव्यको अभिलेखीकरण आवश्यक रहेको उनको भनाइ थियो। लेखक बरालले अधिकांश गन्तव्यमा स्वयं पुगेर त्यहाँको संस्कृति, रहनसहन र विशेषताबारे पुस्तकमा समेटेको उनले उल्लेख गरे।

पत्रकार अनुपमले पुस्तकले पर्यटनलाई केवल व्यावसायिक दृष्टिकोणबाट मात्र नभई स्थानीय समाज, संस्कृति र पहिचानसँग जोडेर प्रस्तुत गरेको बताए। यस्ता कृतिले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको धारणा थियो।

उनले कोशी प्रदेशका धेरै पर्यटकीय गन्तव्य अझै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्याप्त चिनिन नसकेको उल्लेख गर्दै यस्ता पुस्तकले ती गन्तव्यको प्रचार–प्रसारमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका दृष्टिले देशकै सम्भावनायुक्त प्रदेश भए पनि त्यसअनुसार पर्यटन क्षेत्रको विकास हुन नसकेको बताए।

लेखक तथा पर्यटन व्यवसायी बरालले पुस्तक लेख्नुको उद्देश्य कोशी प्रदेशका पर्यटकीय सम्पदालाई एकै स्थानमा दस्तावेजीकरण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै प्रदेशका गन्तव्यबारे जानकारी गराउनु रहेको बताए।

कार्यक्रमका अध्यक्ष तथा संगीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदीप रेग्मीले पर्यटन प्रवर्द्धनका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने भन्दै साहित्य, सञ्चारमाध्यम र नागरिक समाजको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताए।

उनले यस्ता पुस्तक तथा परिचर्चा कार्यक्रमले पर्यटनप्रति नागरिकको चासो बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *