शिक्षण पेशा छाडेर हजारौँ महिलाको जीवन बदल्दै पार्वती गच्छदार

Listen to this article
1 minute read

योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ) : समाज परिवर्तनको आधार शिक्षा मात्र होइन, सीप र आत्मनिर्भरतामा पनि निहित हुन्छ भन्ने मान्यता बोकेर मोरङको सुन्दरहरैंचा नगरपालिका–२ की पार्वती गच्छदार विगत केही वर्षदेखि निरन्तर सामाजिक अभियानमा सक्रिय छिन्।

शिक्षण पेशा त्यागेर समाजसेवा र सीपमूलक तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउने अभियानमा लागेकी गच्छदार अहिले सुन्दरहरैंचा मात्र नभई देशका विभिन्न जिल्लामा परिचित नाम बनेकी छिन्।

सिद्धार्थ स्किल डेभलोपमेन्ट प्रालिकी प्रबन्ध निर्देशकका रूपमा कार्यरत गच्छदारले समाजमा पछाडि परेका महिला, विपन्न वर्ग तथा बेरोजगार युवालाई सीप सिकाएर आर्थिक रूपमा सक्षम बनाउने अभियान सञ्चालन गर्दै आएकी छिन्। उनले सञ्चालन गरेका विभिन्न तालिम कार्यक्रमले सयौँ महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याएको स्थानीयहरू बताउँछन्।

पार्वती गच्छदारले नौमती तथा पञ्चेबाजा बजाउने तालिमदेखि लिएर सर्फ र साबुन बनाउने तालिम, अगरबत्ती निर्माण, सिलाइ–कटाइ, ढाका बुनाइ, उद्यमशीलता विकास तथा अन्य सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएकी छिन्। विशेषगरी महिलाहरूलाई परम्परागत संस्कृतिसँग जोड्दै आर्थिक उपार्जनको अवसर सिर्जना गर्ने उनको अभियान अहिले निकै प्रभावकारी बन्दै गएको छ।

उनले सुन्दरहरैंचाका प्रायः सबै वडामा पुगेर महिलाहरूलाई सीप सिकाउने, आत्मविश्वास जगाउने र आफ्नै खुट्टामा उभिन प्रेरित गर्ने काम गरिरहेकी छिन्। कतिपय महिलाहरूले उनले दिएको तालिमपछि साना उद्योग सञ्चालन गरेर परिवारको आर्थिक अवस्था सुधार्न सफल भएको अनुभव सुनाउने गरेका छन्।

गच्छदारको अर्को विशेषता भनेको नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा उनको सक्रियता हो। पछिल्लो समय उनले सञ्चालन गरेको ढाका बुनाइ तालिमले निकै चर्चा पाएको छ। नेपाली पहिचान बोकेको ढाका कपडाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो तालिम अहिले मोरङबाट बाहिरिएर सर्लाही जिल्लासम्म विस्तार भइसकेको छ।

सर्लाहीमा सञ्चालन भइरहेको ढाका बुनाइ तालिममा पनि महिलाहरूको उत्साहजनक सहभागिता रहेको छ। यस तालिमले महिलाहरूलाई आयआर्जनको अवसर सिर्जना गर्नुका साथै नेपाली मौलिक पहिचानलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

पार्वती गच्छदार भन्छिन्, “महिलालाई केवल सहायता होइन, सीप दिनुपर्छ। सीप भयो भने उनीहरू आफैं सक्षम बन्छन्, परिवार सक्षम हुन्छ र समाज परिवर्तन हुन्छ।” यही सोचलाई आत्मसात् गर्दै उनले विभिन्न स्थानीय तह, संघ–संस्था र समुदायसँग सहकार्य गरेर तालिम तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गरिरहेकी छिन्।

उनको सक्रियताका कारण धेरै महिलाले रोजगारीको अवसर पाएका छन् भने कतिपय महिलाहरूले आफ्नै व्यवसाय सञ्चालन गरी उदाहरणीय उद्यमीको परिचय बनाएका छन्। सामाजिक रूपान्तरण, महिला सशक्तीकरण र नेपाली मौलिक संस्कृतिको संरक्षणमा पुर्‍याएको योगदानका कारण पार्वती गच्छदार अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेकी छिन्।

शिक्षण पेशाबाट सुरु भएको उनको यात्रा आज समाजका हजारौँ महिलाको जीवनमा आशाको किरण बनेको छ। सीप, संस्कार र सामाजिक सेवाको माध्यमबाट परिवर्तन सम्भव छ भन्ने सन्देश दिँदै पार्वती गच्छदारको अभियान अझै निरन्तर अगाडि बढिरहेको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *