इटहरी । सुनसरीको विश्व आदर्श कलेज, इटहरी मा जलवायु परिवर्तनसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले Climate Change Awareness and Action – Training of Trainers (ToT) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। Step to Eliminate Poverty (STEP) को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की रहेका थिए। उनले जलवायु परिवर्तन अहिले विश्वकै साझा चुनौती बनेको उल्लेख गर्दै यसको असर नेपालजस्ता हिमाली मुलुकले प्रत्यक्ष रूपमा भोगिरहेको बताए। वातावरण संरक्षण, वनजंगलको संरक्षण, प्राकृतिक स्रोत–साधनको दिगो उपयोग तथा युवाहरूको सक्रिय सहभागितामार्फत मात्र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो। उनले विद्यार्थीहरूलाई वातावरण संरक्षणका अभियानमा अग्रसर हुन तथा सिकेका ज्ञानलाई समुदायसम्म पुर्याउन आग्रह गरे।
कार्यक्रममा विश्व आदर्श कलेज का प्राचार्य गणेश कुमार दुलाल ले सहभागीहरूलाई स्वागत गर्दै जलवायु परिवर्तनसम्बन्धी यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र वातावरणप्रतिको चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता रचनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रशिक्षक आशिष लामिछानेले जलवायु परिवर्तनका कारण, त्यसका असर, वातावरण संरक्षणका उपाय, कार्बन उत्सर्जन न्यूनीकरण, विपद् जोखिम व्यवस्थापन तथा समुदायस्तरमा जलवायु सचेतना फैलाउने विषयमा विस्तृत प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा सहभागीहरूले समूहगत छलफल, प्रस्तुतीकरण तथा अन्तरक्रियामार्फत आफ्नो अनुभव र धारणा पनि प्रस्तुत गरेका थिए।
कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका विद्यार्थीहरूले प्रशिक्षणलाई निकै उपयोगी र ज्ञानवर्द्धक भएको प्रतिक्रिया दिएका थिए। सहभागीहरूले आफूहरूले प्राप्त गरेको ज्ञान विद्यालय, समुदाय तथा स्थानीय तहसम्म पुर्याई वातावरण संरक्षण अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई Climate Change Awareness and Action – Training of Trainers (ToT) सम्बन्धी प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजक संस्थाले यस्ता कार्यक्रमले जलवायु परिवर्तनबारे सचेत नागरिक तयार गर्न, वातावरण संरक्षणप्रति जिम्मेवार नेतृत्व विकास गर्न तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।














