वडा अध्यक्ष फुटबल क्लबको उपाधि विजेता सुन्दरहरैचा–५ का खेलाडी सम्मानित

Listen to this article
1 minute read


सुन्दरहरैचा(मोरङ) : मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थित हरैचा स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न वडा अध्यक्ष फुटबल क्लब २०८३ मा प्रथम स्थान हासिल गर्न सफल सुन्दरहरैचा–५ को टोलीलाई वडा कार्यालयले विशेष सम्मान गरेको छ। विजेता खेलाडीहरूलाई एक कार्यक्रमको आयोजना गरी सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको हो।

सुन्दरहरैचा–५ का वडा अध्यक्ष गणेश चौधरी, वडा सदस्यहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै उनीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा सहभागी खेलाडीहरूलाई सम्मान गर्दै वडा अध्यक्ष चौधरीले खेलकुदले समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

वडा अध्यक्ष चौधरीले भने, “खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र होइन, यसले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, सहकार्यको भावना र सकारात्मक सोचको विकास गर्छ। सुन्दरहरैचा–५ का खेलाडीहरूले मेहनत, समर्पण र संघर्षका माध्यमबाट वडाको नाम उच्च बनाएका छन्। उहाँहरूको यो सफलता सम्पूर्ण वडा नम्बर ५ का नागरिकहरूको गौरवको विषय हो।”

उनले खेलाडीहरूको उपलब्धिले अन्य युवाहरूलाई पनि खेलकुदप्रति आकर्षित गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा खेल क्षेत्रको विकास र प्रवर्द्धनका लागि वडा कार्यालयले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। “हामी युवाहरूलाई कुलत र विकृतिबाट टाढा राखेर खेलकुदतर्फ आकर्षित गर्न चाहन्छौँ। त्यसका लागि खेल मैदानको व्यवस्थापन, खेल सामग्रीको उपलब्धता र प्रतियोगिताहरूको आयोजनामा वडा कार्यालय सदैव सकारात्मक रहनेछ,” उनले भने।

कार्यक्रममा वडा सदस्य घनश्याम घले गुरुङले पनि विजेता टोलीलाई बधाई दिँदै खेलाडीहरूको मेहनत र लगनको प्रशंसा गरे। उनले खेलकुदले समुदायमा एकता, भाइचारा र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए। साथै उनले सुन्दरहरैचा–५ का खेलाडीहरूले उत्कृष्ट प्रदर्शनमार्फत वडाको प्रतिष्ठा बढाएको उल्लेख गरे।

स्थानीयवासी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न सम्मान कार्यक्रममा खेलाडीहरूले प्राप्त सम्मानले आफूहरूलाई अझ उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए। उनीहरूले आगामी दिनमा पनि अझ उत्कृष्ट प्रदर्शन गर्दै वडा, नगर तथा जिल्लाको नाम राष्ट्रियस्तरसम्म चिनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *