नवराज काफ्ले नेतृत्वको साझा समूहले सार्वजनिक गर्‍यो प्रतिबद्धतापत्र, व्यवसायीमैत्री उद्योग वाणिज्य संघ निर्माण गर्ने घोषणा

Listen to this article
1 minute read

इटहरी । इटहरी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै नवराज काफ्ले नेतृत्वको साझा समूहले व्यवसायीहरूको हितलाई केन्द्रमा राखेर आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत समूहले उद्योग वाणिज्य संघलाई कुनै पनि राजनीतिक, सामाजिक, लैङ्गिक वा आर्थिक विभाजनको आधारमा सञ्चालन हुन नदिने स्पष्ट अडान व्यक्त गर्दै सम्पूर्ण व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको हो।

विज्ञप्तिमा उद्योग वाणिज्य संघ इटहरीले विगतदेखि व्यवसायीहरूको सद्भाव, एकता र व्यावसायिक अधिकारको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरिएको छ। इटहरी पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा स्थापित भइसकेको अवस्थामा संघको नेतृत्व पनि सबै व्यवसायीलाई समेट्ने, निष्पक्ष र व्यवसायमैत्री हुनुपर्ने आवश्यकता औँल्याइएको छ।

साझा समूहले उद्योग वाणिज्य संघको निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धाको रूपमा नभई व्यवसायीहरूको साझा भविष्य निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेको छ। कुनै पनि राजनीतिक वा सामाजिक विभाजनले संघलाई कमजोर बनाउने र त्यसले इटहरीको समग्र आर्थिक विकासमा नकारात्मक असर पार्ने उल्लेख गर्दै सबै व्यवसायीलाई एकताबद्ध हुन आग्रह गरिएको छ।

समूहका अनुसार निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया भए पनि त्यसपछि सबै व्यवसायीबीच सहकार्य र सहअस्तित्व कायम गर्दै संस्थालाई थप सशक्त बनाइनेछ। सबै प्रकारका व्यवसायीको समान प्रतिनिधित्व सुनिश्चित गर्दै संघलाई समावेशी र उत्तरदायी संस्थाका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ।

सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा व्यवसायीका समस्या समाधानलाई प्राथमिकतामा राख्दै ‘दिन–रात व्यवसायीको साथ’ अभियान सञ्चालन गरिने उल्लेख छ। व्यवसायीलाई समस्या पर्दा संघका पदाधिकारी प्रत्यक्ष रूपमा उपस्थित हुने र तत्काल समन्वय तथा सहजीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ।

त्यसैगरी, अनावश्यक रूपमा बजार बन्द गर्ने परम्पराको अन्त्य गर्दै निर्बाध व्यापार सञ्चालनको वातावरण निर्माण गर्ने, इटहरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेला, प्रदर्शनी र लगानी सम्मेलन आयोजना गरी व्यापार विस्तारका अवसर सिर्जना गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

समूहले ‘डिजिटल उद्योग वाणिज्य संघ’ को अवधारणा अघि सारेको छ। यसअन्तर्गत सदस्यता नवीकरणलगायतका सेवाहरू व्यवसायीको घर वा पसलबाटै डिजिटल माध्यमबाट उपलब्ध गराइने व्यवस्था गरिने उल्लेख गरिएको छ।

प्रतिबद्धतापत्रमा घरबहाल करसम्बन्धी समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरी दीर्घकालीन समाधान खोज्ने, इटहरीलाई सूचना प्रविधि, नवप्रवर्तन र स्टार्टअप व्यवसायको केन्द्रका रूपमा विकास गर्न लगानी आकर्षित गर्ने तथा युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

यस्तै, व्यापार तथा व्यवसायसँग सम्बन्धित कर, राजस्व र कानुनी प्रक्रियाबारे व्यवसायीलाई नियमित प्रशिक्षण दिइने, राजस्व कार्यालयसँग समन्वय गरी दोहोरो कर लगायतका जटिलता हटाउन पहल गरिने प्रतिबद्धता पनि समूहले जनाएको छ।

महिला उद्यमशीलतालाई विशेष प्राथमिकतामा राख्दै डिजिटल मार्केटिङ, वित्तीय व्यवस्थापन तथा कर प्रणाली सम्बन्धी तालिम सञ्चालन गर्ने, महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्ने र उनीहरूको क्षमता अभिवृद्धिमा विशेष कार्यक्रम ल्याइने विज्ञप्तिमा उल्लेख छ।

नवराज काफ्ले नेतृत्वको साझा समूहले व्यवसायीको एकता, पारदर्शी नेतृत्व, डिजिटल सेवा, सहज व्यापारिक वातावरण र समावेशी विकासलाई आफ्नो निर्वाचन अभियानको मुख्य आधार बनाएको जनाएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *